– राज्यलक्ष्मी शाक्य
पछिल्ला केही महिनामा किन यति धेरै यस्ता साइड इफेक्ट भएका बिरामी आइरहेका छन् भनेर गरिएको सर्वेक्षणमा कोभिड–१९ लाग्ने डरले मानिसहरूले सामाजिक सञ्जालमा प्रचारमा आएका विभिन्न अफवाहको विश्वास गरी भिटामिन डीले मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्दै यसका विभिन्न औषधि अत्यधिक सेवन गर्न थाले जसका कारण यसले साइड इफेक्ट निम्त्यायो र मानिसमा अन्य रोगको जोखिम बढाएको ख्लासा भएको छ।
चिकित्सकहरुका अनुसार भिटामिन डी को अत्यधिक प्रयोगबाट ब्लड र युरिन क्याल्सियमको मात्रा बढ्न थाल्छ, जसले गर्दा टाउको दुख्ने, वान्ता हुने, डिहाइड्रेसन, चक्कर आउनेजस्ता अन्य धेरै असरहरू देखिन्छन्। रगतमा भिटामिन डी को मात्रा १५० नानोग्राम पर मिलिलिटरभन्दा बढी भयो भने विषाक्तता हुन्छ र यसले विभिन्न असर देखाउन थाल्छ । पछिल्लो समय कोभिड –१९ बाहेकका सबै बिरामीहरू यस्तै अफवाहका पछि लागेर यस्तै वा अन्य प्रकारका औषधिको मात्रा नमिलाई खाएर अस्पताल आएकाहरू पाईएको चिकित्सकहरुको अनुभव रहेको छ ।
भारतका बिभिन्न शहरहरुमा यस्ता बिरामीहरुको संख्या अत्यधिक बृद्दि भैरहेको चिकित्सकहरुबाटै खुलासा गरिएको छ । सामाजिक सञ्जालमा देखेको भरमा बेसार, मेथी, घ्युकुमारीको जुस र भिटामिन डीलगायतका औषधिहरूको अत्यधिक प्रयोग गरिरहेकाहरुमा यस्तो समस्या देखिएको जनाईएको छ ।
सामाजिक सञ्जालमा फैलिएका केही सरकारद्वारा समेत समर्थित तथ्यहीन अफवाहका पछि लागेर मानिसहरूले आफ्नो दैनिक जीवनमा यस्ता अस्वस्थ वस्तु प्रयोग गरिरहेका छन्। जसको फलस्वरूप मानिसमा विभिन्न रोगहरू देखापर्न थालेका छन् । सरकारमा भएका व्यक्तिले नै यस्ता कुराको समर्थन गर्नाले र मानिसहरूलाई यस्ता कुरा प्रयोग गर्न भनिदिने तर यसको मात्रा र कस्ता मानिसले यस्ता औषधिको प्रयोग गर्नु हुँदैन भनेर नभनिदिँदा धेरैलाई समस्या परिरहेको पनि चिकित्सकहरुको भनाई रहेको छ ।
धेरै आयुर्वेदिक र यस्ता भिटामिनहरू मात्रा मिलाएर खाँदा खासै असर हुँदैन तर मात्रा नमिलाई अफवाहका पछि लागेर खानाले हाम्रो स्वास्थ्यमा धेरै ठूलो असर गरिरहेको हुन्छ। कतिपयले पहिलेदेखि नै दीर्घरोगका विभिन्न औषधिहरू प्रयोग गरिरहेका हुनसक्छन्, त्यस्ता व्यक्तिलाई त झन् कतिपय यस्ता कुराहरू विषाक्तसमेत बन्न सक्छन्। यस्तो हुँदा डरलाग्दो अवस्था सिर्जना हुने चिकित्सकहरुको सुझाव छ ।
चिकित्सकहरुले यस्ता औषधिहरूको प्रयोग गर्दा विज्ञसँग सल्लाह गरेर मात्रा मिलाएर प्रयोग गर्नका लागि सुझाउने गरेका छन्। नत्र अन्य रोगका समस्या झेल्नुपर्ने उनीहरुको चेतावनी तर्फ सरकार सचेत नबने पनि हामी नागरिकहरु सचेत बनिहाल्न जरुरी छ । – जनधारणा साप्ताहिक