वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनमा उठेका केही सैद्धान्तिक प्रश्नहरु !

77

 -नारायण शर्मा

१. क्रान्तिमा बल प्रयोगको सिद्धान्त र सशस्त्र संघर्षको बाटो व्यावहारिक रुपमै अवलम्बन गरिसकेका हाम्रा नेपाली कामरेडहरुलाई समेत जनआन्दोलनको अर्थात् शान्तिपूर्ण आन्दोलनको सीमा थाहा होला कि नहोला ?

२. मात्रात्मक परिवर्तन, आंशिक उपलब्धि, उपरिसंरचनामा फेरबदल र रुपमा बदलाव आदि आएर मात्र क्रान्ती अर्थात् गुणात्मक परिवर्तन होला त ?

३. इतिहासमा कहिले काहीँ प्रतिक्रियावादी कुनै शासक उदार, नरम र दयालु भयो र कुनै क्रान्ति नै भैहाल्यो भनेर प्रतिक्रियावादी वर्ग, त्यो पनि आजको जस्तो साम्राज्यवादी युगमा, बुद्धवादी बनेर सत्ता छोड्देलान् र सर्वहारा वर्गीय सत्ताको प्राप्ति, संरक्षण र सम्बर्द्धन होला र ?

४. नेपालमा राजा वीरेन्द्रले जनआन्दोलनलाई दमन गर्नभन्दा आफ्ना अधिकारहरुको कटौती गर्न तयार भै गरेको जनमत संग्रह र बहुदलीय व्यवस्थाको स्वीकार अनि आफ्नो वंशनासकै खतरालाई मोलेर पनि माओवादी जनयुद्ध र योद्धालाई देसभक्त नेपाली सम्झेर रक्तपात मच्चाउन सेना परिचालन गर्न नमानेको घटनालाई सामान्यीकरण गरेर प्रतिक्रियावादीहरु देसभक्त, जनप्रेमी र अग्रगामी हुन्छन् । तसर्थ क्रान्तिको लागि हतियारबद्ध आन्दोलन जरुरी हुन्न भन्न मिल्ला ?

५. राजा वीरेन्द्रको पूरै सन्तती-परिवारको हत्यापश्चात् परम्परागत राजतन्त्रको औपचारिक समाप्तिपछि पनि राजा बने-बनाइएका निवर्तमान राजा ज्ञानेन्द्रले जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलनको बललाई सम्मान गर्दै नरसंहार नगरी राज्यसत्ता सहजै जनतालाई हस्तान्तरण गर्नाले हुन गएको राजतन्त्रको उन्मूलन र गणतन्त्रको प्राप्तिलाई सैद्धान्तिकरण गरेर प्रतिक्रियावादी राज्यसत्ताको हिंस्रक चरित्र बदलियो भन्ने संश्लेषण गर्न सकिएला त ?

६. आज दुई तिहाईभन्दा बढी नेपाली जनमत वामपन्थी, कम्युनिस्ट, क्रान्तिकारी र समाजवादी भएको पुष्टि हुनाले भोलि हुने जनमत संग्रहमा पनि वैज्ञानिक समाजवादकै पक्षमा बहुमत प्राप्त हुन्छ नै भनी विश्वास गरेर संसदीय व्यवस्था कि बैज्ञानिक समाजवादी व्यवस्था भन्नेमा जनमतसंग्रहमा जानू ठिक होला र ?

७. फेरि त्यस्तो जनमत संग्रह गर्दा कथं बैज्ञानिक समाजवादको पक्षमा बहुमत प्राप्त भएमा त्यसको स्थापना, रक्षा, विकास र विस्तार गर्दै मार्क्सीय साम्यवादतिर लान-जान सकिएला कि नसकिएला हँ ?

८. अमेरिका र भारतजस्ता विश्व र दक्षिण एसियाका साम्राज्यवादी र विस्तारवादी दादाहरुले नेपालजस्ता देसहरुका लोकतान्त्रिक आन्दोलनलाई समर्थन र सहयोग गरेर राजतन्त्रलाई उन्मूलन गर्न सघाएको वा लगाएको हुनाले उनीहरु पूर्ण लोकतन्त्रवादी भएको निष्कर्ष निकाल्न मिल्ला त ?

९. अनि यसैलाई आधार मानी भारत र अमेरिकी शासकवर्गको सल्लाह-सुझाव, नीति-निर्देशन, योजना-षड्यन्त्र र दवाव-हस्तक्षेपलाई शिरोपर गरेर वा नजर अन्दाज गरेर अर्थात देसलाई वैदेसिक शोषण-उत्पीडनबाट मुक्त नगरी जनवादी क्रान्ती पूरा भएको र समाजवादी क्रान्तीको मार्गप्रशस्त भएको ठान्न सकिएला र ?

१०. यस्तै, सामन्तवादको एउटा प्रतिनिधि संस्था राजतन्त्र ढल्दैमा जनपताबाट चुनिएका भनिएका शासकहरुमा राजर्षी शानशौकत बढाएर सामन्तवादको उन्मूलन भएको र संघीय लोकतान्तृक गणतन्त्र नामक जातीय (वर्गीय होइन) समानुपातिक-समावेशी संसदीय व्यवस्था आउँदैमा नयाँजनवादी क्रान्ती हुँदै समाजवाद-साम्यवादसम्म पुग्ने लक्ष-उद्देश्यमा पुग्ने प्रतिबद्धता गरेको पूरा भएको ठहर्छ र ?

११. दस बर्षे जनयुद्ध, सत्र हजारको बलिदान, हज्जारौंहजार बेपत्ता, घाइते-अपाङ्ग र जेल-हिरासतको यातना, तथा लाखौंको विस्थापन-आप्रवासन र निर्वासनको दुखकष्ट अनि करोडौं नेपालीले भोगेको प्रत्यक्ष मारको अर्थ र औचित्य देस र जनताको यही व्यवस्था र अवस्थाबाट पुष्टि भएको छ त ?

१२. नेपालका सबैजसो पार्टीहरुले आफ्ना दस्तावेजहरुमा र नेपालको संविधानमै यो संसदीय व्यवस्थालाई समाजवाद उन्मुख राज्यव्यवस्थाको रुपमा नामाकरण गर्दैमा संवैधानिक, कानूनी र विधि-पद्धतिसम्मत तरिकाले सच्चा समाजवादमा पुगिएला त ? १३. कम्युनिस्टहरुको दुई तिहाई बहुमतको सरकार, समाजवादीहरुको सर्वसम्मत संसद र तीन चौथाई वामपन्थी जनमत भएको यो मुलुकमा आज राज्यमा, राजनीतिक शक्ति र व्यक्तिहरुमा अनि समाजमै पनि बढे-बढाइएका विचलन, विघटन, विसर्जन र विकृती-विसङ्गतिका बीचबाट यसरी नै समाजवाद-साम्यवादमा पुग्न सकिएला कि नसकिएला ?

१४. वर्तमानको यो भ्रष्टता, भद्रगोल र भाँडभैलोविरुद्ध भीषण र भयङ्कर लडाई नलडेर अनि नेता-शासकहरुमा शुद्धीकरण, सर्वहाराकरण र क्रान्तिकारीकरण नगरेरै क्रान्ती, शान्ती र समृद्धी सम्भव होला कि न होला ? १५. अब नेपालमा कम्युनिस्ट क्रान्तिको लागि क्रान्तिकारी व्यवहार, भूमिगत संगठन, अवैध गतिविधि, वर्गसंघर्ष, गाउँ-सहर जागरण अभियान, किसान-मजदुर आन्दोलन, वैचारिक-राजनीतिक स्कूलिङ, सर्वहारा अनुशासन र सांस्कृतिक क्रान्ती र रुपान्तरण जस्ता काम-कुराहरुको आवश्यकता समाप्त भएकै हो त ? **