काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ । उनीहरूबीच मंगलबार राती महाराजगन्जस्थित एक व्यापारीको निवासमा भेट भएको कांग्रेस निकट स्रोतले जनाएको छ ।
दुई नेताबीच भएको कुराकानीको विषयमा विस्तृत जानकारी प्राप्त नभए पनि सत्ता समीकरणको सवाललाई लिएर भेट वार्ता भएको हो । सत्ता सहकार्यका स्वरूपका विषयमा छलफल भएको स्रोतको भनाइ छ ।
मंगलबार दिउँसो नै देउवाले आफ्नो निवास बुढानिलकण्ठमा जनता समाजवादीका डा बाबुराम भट्टराई र उपेन्द्र यादवलाई पनि भेटेका थिए ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि सभापति देउवा सत्तासमीकरणका लागि कृयाशील देखिएका छन् ।
सभापति देउवाले माओवादी केन्द्र र जसपाका शीर्ष नेतालाई बोलाएर औपचारिक प्रस्ताव राखिसकेका छन् । माओवादी केन्द्रले सहमति जनाएको भए पनि जसपाले भने सत्ता सहकार्यको लागि प्रधानमन्त्री ओलीसँग पनि सम्वाद गरिरहेको बुझिएको छ ।
 
            
 
		

