मंगल ग्रहमा सास फेर्न मिल्ने !

117

वासिङटन । नासाले आफूले पठाएको यानले मंगल ग्रहमा सफलतापूर्वक सास फेर्न मिल्ने अक्सिजन निर्माण गरेको बताएको छ जुन उक्त ग्रहमा भविष्यका मानव मिसनहरुका लागि अत्याधिक ठूलो उपलब्धी भएको बताइएको छ । स्पेस एजेन्सी नासाले बुधबार बेलुकी यस खबरलाई पक्का गर्दै हाल मंगल ग्रहमा अवतरणरत्, प्रिजरभरेन्स रोभर सँग पठाइएको उपकरणले मंगल ग्रहको पातालो तर प्रशस्त कार्बन–डाइअक्साइड युक्त वायुमण्डललाई अक्सिजनमा परिणत गरेको जनाएको छ ।

नासाको जेट प्रपल्जन ल्याबोरेटरीले विकसित गरेको उक्त अनुसन्धानात्मक उपकरणलाई छोटकरीमा ‘मोक्सी’ (मार्स अक्सिजन इन–सिटु रिसोर्स युटिलाइजेसन एक्सपेरिमेन्ट) को नाम दिइएको छ ।

नासाले बताएअनुसार यो खोजले ‘सायन्स फिक्सन’ अर्थात काल्पनिक विज्ञानलाई वास्तविक वैज्ञानिक तथ्य तर्फको बाटो देखाएको छ । मंगल ग्रहमा अक्सिजन स्टोर गर्न सक्नुले रकेटलाई त्यहाँको सतहबाट उड्न मद्दत गर्ने, जसमार्फत अन्तरिक्षयात्रीहरु घर फर्कन सक्ने अनि भविष्यमा त्यहाँ मिसनमा गएकाकहरुलाई सास फेर्ने हावा समेत प्रदान गर्ने नासाको धारणा छ ।

नासाको प्राविधिक मिसनका प्रमुख जिम रोएटर भन्छन्, “मंगल ग्रहमा कार्बन डाइअक्साइडलाई अक्सिजनमा परिणत गर्ने यो अत्यन्तै महत्वपूर्ण पहिलो कदम हो । र मोक्सीका अझै धेरै कामहरु बाँकी छन् । तर मंगल ग्रहमा एकदिन मान्छेलाई पुर्याउने हाम्रो लामो समय देखिको लक्ष्य पूरा गर्न यसले धेरै हौसला दिलाएको छ । किनकी अक्सिजन हामीलाई सास फेर्न मात्र काम लाग्दैन । रकेटलाई ऊर्जा दिने ‘प्रोपेलेन्ट’ तत्व पनि अक्सिजनमै निर्भर हुन्छ र ग्रहमा अवतरण गरिसकेपछि पृथ्वी फर्किन उनीहरुले यसैबाट प्रोपेलेन्ट उत्पादन गर्न सक्नेछन् । नासाका अनुसार मंगल ग्रहको वायुमण्डल ९६ प्रतिशत कार्बन डाइअक्साइडले बनेको छ । र मोक्सीले त्यही कार्बन डाइअक्साइडबाट अक्सिजनका एटम्सहरु छुट्याउँदछ । यस अन्र्तगत मंगल ग्रहको वातावरणमा अनावश्यक कार्बन मोनोअक्साइड भने उत्सर्जन हुने गर्दछ ।

यो प्रक्रियाका लागि अत्याधिक धेरै तापमान, १,४७० डिग्रीको आवश्यक पर्दछ । त्यसकारण नै मोक्सीलाई तातो प्रतिरोधक सरसामानले निर्माण गरिएको छ । आफ्नो पहिलो परीक्षणमा मोक्सीले ५ ग्राम अक्सिजन अर्थात १० मिनेटसम्म सास फेर्न सकिने अक्सिजन निर्माण गरेको हो । त्यो उपकरणले प्रति घण्टा १० ग्रामसम्म उत्पादन गर्न सक्छ ।

प्रिजरभरेन्स रोभर नासाको अहिलेसम्मकै अत्याधुनिक यान हो जुन गत फेब्रुअरीमा मंगल ग्रहमा अवतरण भएको थियो । त्यसै समयदेखि यसले त्यहाँ प्राचीन जीवन सम्बन्धी खोजी गरिरहेको छ र मानव यात्रातर्फको बाटो पनि खुलाउने अपेक्षा गरिएको छ । एबीसी न्युज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here