जेठ १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत

143

निर्वाचन आयोगले आगामी जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगको बुधबारको बैठकले उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ७९ तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र  नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा २९६ मतदाताको नामावली स्वीकृत गरेको हो ।
प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्य गरी जम्मा ३०५ मतदाता रहेकामा विभिन्न कारणले प्रदेशसभा सदस्य आठ र स्थानीय तहका एक मतदाता रिक्त रहेको  आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । निर्वाचनका लागि दाङ जिल्ला, घोराही उपमहानगरपालिका वडा नं १५ स्थित कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानस्थलमा प्रदेशसभा सदस्यका लागि केन्द्र
(क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखका लागि केन्द्र (ख) गरी दुई मतदान केन्द्रसमेत तोकिएको आयोगले जनाएको छ ।
यसैगरी बुधबार निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण  सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेका विषम परिस्थितिमा स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्ण पालना गरेर मात्र निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि सञ्चालन गर्न  निर्देशन दिनुभयो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here