काठमाडौं । कोरोना भाइसरको दोस्रो लहरका कारण मलेसियामा तय भएको एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अनिश्चित कालका लागि स्थगित भएको छ ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले प्रतियोगिता अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको हो ।
एएफसीले कोरोना महामारीको जोखिमका कारण आयोजक, खेलाडी, प्रशिक्षक र सम्बन्धित सबैको स्वास्थ्यलाई ध्यानमा राखेर प्रतियोगिता स्थगित गरेको जनाएको छ ।
छनोट चरणका खेल यही मे २७ देखि क्वालालम्पुरमा हुने तय भएको थियो । एएफसीले प्रतियोगिताको सम्पूर्ण जानकारी अर्को सूचनामा दिइने बताएको छ ।
नेपालले पनि छनोट चरणमा सहभागिता जनाउने छ । छनोटको पोल ४ मा नेपाल सहित युएई, प्यालेस्टाइन, किर्गिस्तान, मंगोलिया र सिंगापुर छन् ।
सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा १२ टोली सहभागी रहनेछन् ।
जसमा भारत आयोजकका नाताले र अघिल्लो संस्करणका शीर्ष तीन टोली जापान, अस्ट्रेलिया र चीन सिधै छनोट भइसकेका छन् । छनोट चरणबाट बाँकी ८ टोलीको टुङ्गो लाग्नेछ ।


















