परोपकार प्रसूति गृहमा ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने

333

काठमाडौं- सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा उक्त बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी दिएको हो।

जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्यरुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्‍न उक्त बैंक स्थापना गर्न लागिएको महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिए। ‘कम दूध आउने आमाका शिशुलाई चिकित्सकहरुको सल्लाहमा आमाकै दूधको व्यवस्था गर्न सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने तयारी गरेको हो,’ विश्व स्तनपान सप्ताहको शुभारम्भ कार्यक्रमको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘जुन आमाको दूध तत्काल आउँदैन वा कमी छ, त्यस्ता बच्चालाई सो बैंकमा राखिएको दूधको व्यवस्था गर्नेछौं। सो बैंक यसै वर्ष काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा स्थापना गरिनेछ।’

शाखाले सो बैंकमा दूध राख्नका लागि करिब एक करोडको मेसिन खरिद गर्ने तयारी गरिएको पनि जनाएको छ। कार्यक्रममा आमाको दूधलाई विस्थापित गर्ने गरी आएको ‘ल्याक्टोजिन’को विज्ञापन नगर्न, नगराउन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ। शाखाका प्रमुख पराजुलीले ल्याक्टोजिनको विज्ञापन गरेको पाइए कडा कारबाही गर्ने चेतावनीसमेत दिए। उनले भने, ‘ल्याक्टोजिनको विज्ञापन कहीँ भएको पाइए त्यसउपर कडा कारबाही हुन्छ।’

आजबाट सुरु भएको विश्व स्तनपान सप्ताह साउन २३ गतेसम्म चल्नेछ। ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मूल नाराका साथ मनाउन सुरु गरिएको सो सप्ताहमा सबै स्थानीय तहमासमेत जनचेतनामूलक कार्यक्रम आयोजना हुने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले स्पष्ट पारेको छ।

शिशु जन्मेको छ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्ने र त्यसभन्दा माथि उमेर पुगेपछि अन्य थप पोषणको पनि व्यवस्था गर्न सो सप्ताह मनाउने कामलाई जोड दिइएको षोषण शाखाका प्रमुख पराजुलीले बताए। स्तनपान संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष विश्वभर विश्व स्तनपान सप्ताह मनाउँदै आइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here