चीन र भुटानले सीमा विवाद समाधान गर्ने सहमित गरेपछि भारतलाई तनाव !

42

भुटानको विदेश र सैन्य नीति भारत नियन्त्रित मानिँदै आएको थियो । तर भूटानले अब आफ्नो स्वतन्त्र पहिचान र हैसियत देखाउन थालेको छ । भारतलाई जानकारी नै नगराएर भूटानले चीनसँगको सीमा विवाद सुल्झाउने सहमति गरेको छ। चीन र भुटानले सीमा विवाद समाधानकालागि तीन चरणको ‘रोडम्याम’ सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेसँगै भारत एक्लिएको महशूस गरेको छ ।

गत बिहीबार भर्च्युअल माध्यमबाट चीन र भुटानले सीमा विवाद समाधानका सम्बन्धमा सहमति पत्र ९एमओयू० मा हस्ताक्षर गरेका हुन्। सो सहमतिले चीनसँगको सीमा विवादलाई लिएर भारतको स्थान तथा अडानमा रणनीतिक महत्व राख्ने देखिन्छ।

तीन देश ९चीन, भारत र भुटान० को सीमा क्षेत्र (त्रिदेशीय विन्दू) दोक्लाममा चार वर्ष पहिले चीन र भारतबीच ७३ दिनसम्म तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

अहिले भुटानले चीनसँग आफ्नो सीमा विवाद समाधानका लागि सहमति पत्रमा हस्ताक्षर गरेसँगै भूटान भारतकालागि चीनसँग सीमा विवादलाई लिएर प्रस्तुत गर्ने दाबी वा अडान कमजोर हुन सक्ने विश्लेषण गरिएको छ।

चार वर्ष पहिले भुटानले आफ्नो दाबी गर्दै आएको क्षेत्रमा चीनले सडक विस्तारको प्रयास गरेपछि भारत र चीनबीच तनावको अवस्था सृजना भएको थियो। भारतले भुटानको दाबीमा समर्थन गरेको थियो । चीन र भारतले सीमा क्षेत्रमा सैनिकको तैनाथी बढाएका थिए।

तर अहिले चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापित नभएको भुटानले सीमा विवाद समाधानका लागि ‘थ्री–स्टेप रोडम्याप’ मा सहमति जनाउनु भारतको उपस्थितिलाई पन्छाउने प्रयासका रुपमा विश्लेषण गरिएको छ।

भुटानको कूटनीतिक सम्बन्ध वा गतिविधि भारतको नयाँ दिल्लीस्थित मिसनबाट हुँदै आएको छ।यसअघिसम्म चीनसँगको भूटानको सम्बन्ध पनि दिल्लीबाटै हुने गरेको थियो । भुटानका विदेशमन्त्री तान्दी दोर्जी र चीनका सहायक विदेशमन्त्री वू च्याङहाओले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीन र भुटानबीच सीमा विवाद समाधानको प्रयासलाई लिएर सहमति भएको जानकारी आएको प्रतिक्रिया दिएका थिए। उनले सहमतिको खबर आएपछि भनेका थिए, ‘चीन र भुटानले सन् १९८४ देखि वार्ता गर्दै आएका हुन् । हामीले पनि वार्ता गर्दै आएका छौँ।’

भारतको उत्तर पूर्वी राज्यहरुको केन्द्रसँग गुनासो कायम रहेको अवस्थामा चीन र भुटानबीच भएको सहमति भारतका लागि चासो र चिन्ताको विषय बन्न सक्ने प्रतिक्रिया भारतपक्षले दिएको छ ।

चीन र भुटानबीच भएको सहमतिको विस्तृत विवरण अहिलेसम्म सार्वजनिक भएको छैन । तर भारतसँग भएको तीन चरणको सीमा विवाद समाधान प्रक्रिया जस्तै भुटानसँगको अहिलेको सहमति रहेको चिनियाँ विदेश मन्त्रालयले उल्लेख गरेकाले भारतीयपक्ष झस्किएको छ ।

सीमा विवाद समाधानका लागि राजनीतिक मापदण्ड र मार्गदर्शक सिद्धान्तहरु, विवाद समाधानका लागि वार्ताको फ्रेमवर्क तथा तेस्रो चरणमा सीमाकंन गर्ने गरी चीन र भारतबीच सहमति भएको थियो।

चीन र भारतले पहिलो चरण सन् २००५ तिर पूरा गरे पनि दोस्रो चरणको काम अझै जारी छ। अहिले भुटानसँग भएको सहमति पनि उस्तै रहेको चिनियाँ भनाई छ । तर आफूलाई बाहिर राखेर भुटानले चीनसँग सीमा विवाद समाधानको रोडम्यापमा सहमति गरेपछि भारत भने चिन्तित भएको छ ।

चीनले भुटानसँग भएको सहमतिलाई विवाद समाधान प्रयासमा ब्रेकथ्रु भनेको छ। चीन र भुटानबिच सन् १९८४ यता सीमा विवाद समाधानको विषयमा २० चरण वार्ता भइसकेका थिए । विगतमा भूटानसँगको द्विपक्षीय सीमा विवाद समाधान प्रयासमा भारत बाधकका रुपमा प्रस्तुत हुँदै आएको थियो । अहिलेको सहमतिबाट विवाद समाधानको प्रयासले गति लिने चिनियाँपक्षबाट दाबी छ। भूटान र चीनबीचको सम्बन्ध बिकासले सार्क संगठनलाई पनि प्रभाबित तुल्याउने सम्भावना बलियो बनेको छ । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here