सामुन्द्रिक चक्रवातबाट नेपाल कति असुरक्षित?

62

काठमाडौँ / जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीको मध्य पश्चिम भूभागमा शुक्रबार जवाद नामको सामुन्द्रिक चक्रवात बनेको जनाएको छ। सो चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर र उत्तर पूर्वतर्फ सर्ने देखिएको महाशाखाले जनाएको छ।

सो चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। तर यसको अप्रत्यक्ष प्रभावले आज रातीबाट प्रदेश नं १, २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने विभागले शनिबार बिहान ७ बजे विशेष बुलेटिन सार्वजनिक गर्दै जानकारी दिएको हो।

महाशाखाले प्रदेश नं १ र २ तथा बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र यी प्रदेशका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको स्पष्ट पारेको छ।

आउँदो सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबारबाट पुनः अर्काे पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना देखिएको छ। सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र ती प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आइतबार राती र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक–दुई स्थानहरूमा भारी हिमपातको समेत सम्भावना रहेको छ। सो प्रणाली सोमबार रातीबाट कमजोर बन्दै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यी मौसमी प्रणालीहरुका कारण पर्वतारोहण, हवाई/यातायतलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

महाशाखाले माथि उल्लिखित दुवै प्रणालीहरुलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार विशेष बुलेटिन जारी गर्ने बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here