राजेश हमालले ‘गाउँले ठिटो’ बोलको नयाँ गीत रेकर्ड गराए

107

काठमाडौं । अभिनेता राजेश हमालले अर्को एक गीत गाएका छन् ।  हमालले आफ्नो चलचित्र करिअरको ३ दशकपछि ३ महिनाअघि पहिलोपटक गीत रेकर्ड गराएका थिए । पहिलोपटक ‘मन बुढो भएन’ बोलको गीत गाएका हमालले शुक्रबार मात्रै ‘गाउँले ठिटो’ बोलको नयाँ गीत रेकर्ड गराएका हुन् ।

हमालले गाएको साे नयाँ गीतमा गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत दिएका छन्  । गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेकाे छ ।

संगीतकार श्रेष्ठले गीत रमाइलोसँगै सन्देशमूलक रहेको बताए । ‘विदेशमा गएकाहरुलाई नेपालमै राम्रो छ, गाउँमै राम्रो छ । विदेश गएका फर्किउन्, यहाँका विदेश नजाउन् र गएर आएकाहरु फेरि नफर्किउन् भन्ने खालको सन्देश गीतले बोकेको छ,’ संगीतकार श्रेष्ठले गीतबारे भने । ग्रामीण परिवेश आउने खालको गीत र भिडियो गर्ने राजेशको सोच अनुसार सहकार्य भएको श्रेष्ठले बताए । हमालले एकल स्वर र अभिनयमा ग्रामीण परिवेश आउने गरी सन्देशमूलक गीत गाउने चाहना राखेका थिए । संगीतकार श्रेष्ठका अनुसार अनुसार ४-५  पटकको बसाइपछि यो गीत रेकर्डिङ गरिएको हो ।

‘उहाँबाट व्यावसायिक गायकरगायिकाहरुको जस्तो आशा गर्न मिल्दैन,’ श्रेष्ठले भने, ‘संगीतकारको हिसाबले सुन्दा तालमा टाइमिङ पर्फेट गाउनुहुन्छ । किनभने टाइमिङमा नगाएको भए गाह्रो हुन्थ्यो । बरु अहिले सुर त लगाउन मिल्छ तर तालमा परेन भने गाह्रो हुन्छ । उहाँ डान्स गरिरहेको हुनाले पनि टाइमिङमा हुँदोरहेछ ।’

अहिले मिक्सिङ भइरहेको गीतको केही दिनमा भिडियो छायांकन हुँदैछ । देवेन्द्र पाण्डेको निर्देशनमा ग्रामीण परिवेशमा तयार हुने भिडियोमा राजेश नै मुख्य भूमिकामा देखिनेछन् । संगीतकार श्रेष्ठले अभिनेता हमालसँग सहकार्य गर्न पाउँदा एकदमै खुशी लागेको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here