खेलौना बनाएर जीविकोपार्जन गर्दै अपाङ्गता भएका महिला

124

सप्तरी । सुरुङ्गा नगरपालिका–२ की उर्मिला निरौला खेलौना (गुडिया) बनाएर आवश्यकता पूरा गर्दै आउनुभएको छ । उहाँ आत्मनिर्भर बन्न र स्वरोजगार बन्न समेत खेलौना बनाउने सीपसमेतक सिक्दै हुनुहुन्छ । निरौला बौद्धिक अपाङ्गता अभिभावक सङ्घले आयोजना गरेको दुईहप्ते तालिममा सहभागी हुनुहुन्छ ।

निरौला ३५ किलोमिटर टाढा राजविराज आएर दैनिक तालिम लिइरहनुभएको छ । अविवाहित उहाँले आत्मनिर्भर हुन सीप सिकिरहेको बताउनुभयो । “म कसैको बोझ बन्न चाहन्न”, निरौलाले भन्नुभयो । भारतीय बजार नजिकै भएका कारण अगरबत्ती, साबुन, मैनबत्ती जस्ता समानमा प्रतिस्पर्धा गर्न नसक्दा खेलौना बनाउन आकर्षित भएको उहाँको भनाइ छ ।

निरौला जस्तै अन्य अपाङ्गता भएका महिलाले तालिम लिइरहेका छन् । तालिममा राजविराजसहित सप्तकोसी, सुरुङ्गा, बोदे बर्साइन, हनुमाननगर कङ्काल्नी नगरपालिकालगायतका महिला सहभागी छन् । खेलौना बनाउने तालिममा सहभागी भएपछि उनीहरू आशावादी बनेका छन् । सप्तकोसी नगरपालिका–१ फत्तेपुरबाट ४० किमीको बसयात्रा तय गरेर तालिममा सहभागी भएकी उर्मिला चौधरी यसबाट जीविकोपार्जन गर्न मद्दत पुग्ने बताउनुुहुन्छ । उहाँका श्रीमान् खगेनको कोभिड–१९ का कारण गत असार ४ गते ज्यान गयो । अपाङ्गता भएकी उर्मिला त्यसयता सहाराविहीन हुनुभएको छ ।

ऐलानी १० धुर जग्गामा बसोबास गरिरहेकी उर्मिलालाई वृद्ध सासूको स्याहार र १३ वर्षीय छोरोको लालनपालनको जिम्मेवारीसमेत सम्हाल्नु परेको छ । दुवै जनाको स्याहारका लागि कुनै न कुनै सीप सिकेर आम्दानीको बाटो खोज्नुपर्ने उर्मिलाको बाध्यता छ ।

यसैगरी हनुमाननगर कङ्काल्नी–१२ की सङ्गीता खड्का पनि क्षमता विकास र आयआर्जनका लागि तालिममा सहभागी हुनुहुन्छ । अविवाहिता खड्काले घरमै ट्युसन पढाउने र किशोरी शिक्षा दिने गरिरहेको बताउनुभयो । खेलौनाको माग बढ्दै गएको उहाँ बताउनुहुन्छ ।

राजविराज नगरपालिका–८ की आरती मण्डल खेलौनाले बनाउने तालिम लिनथालेपछि सीपले जीवन गुजार्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । “तालिमले केही गरेर बाँच्न सकिन्छ भन्ने मनोबल बढेको छ”, उहाँले भन्नुभयो, “घरमै बसेर आय आर्जनको अवसर पाउने विश्वास छ ।”

पहिलो पटक अपाङ्गता भएका महिलालाई तालिम प्रदान गरिएको प्रशिक्षक कविता दासले बताउनुभयो । तालिममा अपाङ्गता भएका रीका २० जना सहभागी छन् । rss

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here