—प्रीति रमण
जसपा निर्माण भएपछि मैले लेखका शब्दहरुको सम्झना भइरहेको छ । ‘जसपाले अरुको सहयोगबाट होइन आफै दुई तिहाई बहुमत प्राप्त गरेर संविधान संशोधन गर्न सक्ने शक्ति बन्नु पर्छ !’ भनेर मैले लेखेकी थिएँ । केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेर त्यस सरकारमा सहभागिता जनाउने वा प्रतिनिनिधिसभा विघटनको विषयमा ओलीको विरोधमा लाग्ने भन्ने विषयले जनता समाजवादी पार्टीका नेताहरुलाई विभाजित बनाएको थियो । तर प्रतिनिधिसभा पुनस्र्थापनासँगै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा संसदभित्र जनता समाजवादी पार्टीका नेताहरु बीच मत मिलेको देखिएको थियो । विभाजनको त्रास घटेको थियो । पार्टीका कार्यकर्ताहरुमा उत्साहको सञ्चार पनि गराएको थियो । सम्भवतः पार्टी नफुटे हुन्थ्यो भन्ने कार्यकर्ताहरुलाई नेताहरु बीचको त्यो मिलनले सबै भन्दा खुशीको क्षण हुन पुगेको थियो । तर जसपा पूmटेरै छोडयो र फेरि अर्को पटक पूmटको संघारमा पुगेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले आफ्नो छुट्ट पार्टी बनाएर मिठो पक्वान्न भोजन गर्दै हुनुहुन्छ होला ! यता पूmटेपछिको जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच पनि पूmटको चाहना देखा परेको छ । पूmटको श्रृंखलाले नेताहरुलाई चाहना पूरा गराउला नै, तर जनतामा निराशा आउने निश्चित छ ।
नेकपा एमाले विभाजित भएपछिको अवस्था हामी सबैले देखेका छौं । केपी ओलीले दुई तिहाई बहुमत निकटको सरकारको नेतृत्व पनि गर्नु भएकै हो । सरकारको शक्तिसाली प्रधानमन्त्री बनेपछि ओलीमा विकसित भएको अहंकारले सत्तासीन डबल नेकपालाई दुर्घटनाग्रस्त बनायो र पार्टीलाई विभाजित बनाएको छ ।
जनता समाजवादी पार्टीको विभाजन कुनै कारणबाट पनि आवश्यक थिएन, तर अव त्यो पार्टीको एकताको कुनै सम्भावना छैन । बरु फेरि पूmटको सुरुवात भइरहेको छ । जसपाका नेताहरुका राजनीतिक, सामाजिक, सांस्कृतिक र भौगोलिक लगायतका सबैखालका देश र जनतासँग जोडिएका मुद्दाहरुमा समानता थियो नै । आन्तरिक विवाद के थिए भन्ने कुरा जसपाका नेताहरुलाई नै थाहा होला । तर विभाजन रहर होइन बाध्यता हो भन्दा भन्दै नेताहरु तीन टुक्रामा विभाजित भइसकेका छन् । डबल नेकपामा विकसित भएको विभाजनले ६ वटा प्रदेशमा सरकारको नेतृत्व गुमेको छ भने केन्द्रमा समेत सरकारको नेतृत्व गुमाउनु परेको मात्रै हैन अव फेरि सत्तामा जाने सम्भावना त्यस पार्टीका लागि असम्भव भएको छ । देशको आवश्यकता र जनताका चाहना बिपरित नेताहरुले गतिविधि गर्न थालेपछि र पार्टीले अपनाएको राजनीतिक गन्तव्य विपरित चल्न खोजेपछि दुर्घटना हुँदोरहेछ भन्ने कुरा बलियो प्रधानमन्त्रीको रुपमा सबैले स्वीकार गरेका केपी ओलीको आजको अवस्थाले स्पष्ट गरिरहेको छ । ओलीको अवस्थासँगै प्रचण्ड र माधव नेपालको अवस्थाबाट पनि सबैले शिक्षा लिनु जरुरी छ ।
जसपाका नेताहरुले पटक–पटक संविधान संशोधन गरिनुपर्ने आवाज उठाइरहेका थिए । संविधानको प्रस्तावनामा व्यवस्था गरिएको ‘समाजवाद’ शब्दको व्याख्या गर्न अथवा त्यो शब्दलाई व्यवहारमा सम्बोधन गर्न प्रयास हुने हो भने नेपाली जनताका चाहना पूरा हुनेछन् । तर राजनीतिक दलका नेताहरुले आफ्नै चाहनालाई मात्र ध्यान दिइरहेका छन् । राजनीतिक आवरणमा भ्रष्टहरुलाई राजनीतिको पदीय जिम्मेवारी सुम्पिने र जनताका विरुद्ध गतिविधि गर्ने काम भइरहेको छ । जनता समाजवादी पार्टी, पूmटेपछि लोकतान्त्रिक समाजवादी पार्टी ! महन्थजी र उपेन्द्रजीलाई ‘समाजवाद’ शब्दप्रति अभैm पनि मोह छ भन्ने स्पष्ट हुन्छ । संविधानमा ‘समाजवाद’ लेखिएको छ । पार्टीको नाम पनि ‘समाजवाद’ संग जोडिएको छ । पार्टीका विधानमा ‘समाजवाद’ शब्दहरु व्यवस्थित गरिएका छन् । तर समाजवाद कता छ कता ? नेताहरुलाई ‘समाजवाद’ आइरहेको छ । जनतालाई ‘समाजवाद’ धेरै दुर्लभ छ । दुर्लभ मात्र होइन, असम्भव नै देखिएको छ ।
समाजवादी व्यवस्थाबाट जनताले प्राप्त गर्ने अवसरका साथै देशले विकासमा फड्को मार्ने अवस्था पनि रहन्छ । ‘समाजवाद’ प्राप्तिको निम्ति जसपा विभाजित भएर लोसपाको गठन नै आवश्यक थिएन । अव फेरि जसपाको विभाजनको बाजा बजिरहेको छ । यो जनताको निम्ति आवश्यक छैन । जनतालाई निरास बनाउने र जसपाबाट जनतालाई विकर्सित गराउने खेल मात्र हो । विदेशी शक्तिका चाहना पूरा गराउनकै निम्ति पार्टीको विभाजन गराएर जनतालाई कमजोर बनाउने नेताहरुको निर्लज्ज व्यवहारले कहिलेसम्म निरन्तरता पाउने होला खै ?
गन्तव्य ‘समाजवाद’ मा इमान्दारिता देखाएर जनताका आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्ने हो भने जसपा वा लोसपाको लोकप्रियताका सामू अरु सबै राजनीतिक दलहरु कमजोर बन्ने निश्चित छ । र साथै राजनीतिक धुव्रीकरणको बाटो पनि गन्तव्य ‘समाजवाद’ ले नै निर्धारण गर्ने छ । कम्युनिष्ट आवरणको पार्टीलाई दुई तिहाई नजिकको बहुमत दिएका जनताले अवश्य पनि ‘समाजवाद’ को चाहना गरेका थिए । तर उनीहरु पनि जनतालाई निरास बनाएर जनताबाट टाढिएका छन् । दुई तिहाई बहुमतको दम्भले राजनीतिक आदर्श भुलेपछि अहिले उनीहरुलाई पश्चाताप मात्र हात लागेको छ । ‘समाजवाद’ प्राप्त गर्ने र देश बनाउने अवसर उनीहरुले गुमाएका छन् । समाजवाद स्थापनाका सवालमा जसपाको सम्पूर्ण शक्ति लगानी गर्ने हो भने संविधानसम्मत पनि हुने र साथै देशको समृद्धि र जनताको आवश्यकता पनि पूरा हुने हुन्छ । त्यसो हुनासाथ जसपाको पक्षमा देशव्यापी लहर सृजना हुने कुरामा कुनै दुविधा रहने छैन । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई नेतृत्वमा नपुगेको के हो ? के चाहिएको हो ? जनताका निम्ति राजनीति गरिएको हो भने जनतालाई समाजवाद चाहिएको छ । यति बुझे पुग्छ ।-जनधारणा साप्ताहिकबाट


















