भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल

56

एक्जिट पोलको प्रक्षेपण र प्राप्त निर्णायक मतगणना अनुसार भारतको सबभन्दा ठूलो विधानसभामा भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीकै राजनीतिक प्रतिष्ठाको विषय बनेको उत्तर प्रदेशमा आदित्यनाथ योगीको नेतृत्वमा लडिएको निर्वाचनमा पार्टीले ४०३ मध्य २६८ स्थानमा विजय तथा निर्णायक अग्रता कायम गरेको छ भने निर्वाचनमा गएका उत्तराखण्ड तथा उत्तरपूर्वी राज्य मणिपुरमा पनि भाजपाले पूर्ण बहुमत हासिल गरेको छ।

पञ्जाबमा पहिलोपल्ट अरविन्द केजरीवाल नेतृत्वको ‘आप’ (आम आदमी पार्टी) ले कुल ११७ को सदनमा ९२ स्थान हासिल गरी पूर्वघोषित भगवन्तसिंह मानको नेतृत्वमा सरकार गठनको मार्ग प्रशस्त गरेको छ।

योसँगै आम आदमीले राष्ट्रिय दलको हैसियत हासिल गरेको छ।

पञ्जाबमा ‘आप’ले कांग्रेस सरकारलाई विस्थापित गरे पनि केन्द्र सरकारले ल्याएको कृषि सम्बन्धि कानुनबाट आक्रोशित पञ्जावी कृषकहरुले भारतीय जनता पार्टीलाई पनि नमिठो चुनावी पाठ पढाएका छन्। उसको हैसियत दुई सदस्यमा सीमित बनेको छ।

गोवाबाट प्राप्त समाचार अनुसार गोवामा अहिलेसम्मको नतिजाले त्रिशंकु विधान सभाको संकेत दिएको छ।

भारतभित्र र बाहिरबाट त्यहाँको चुनावलाई नियालिराखेकाहरुका लागि उत्तर प्रदेशको नतिजाले विशेष महत्व राख्दछ।

यसपल्ट २६८ स्थान हासिल गरी पाँच वर्ष पहिला भन्दा ४०३ को विधानसभामा ३५ स्थान गुमाए पनि ३७ वर्षपछि दोहोरिएको यो विजयलाई भाजपाका लागि सन २०२४ को आम निर्वाचनको संकेतका रुपमा हेरिएको छ।

वास्तवमा यो निर्वाचनमा गोवामा केही सम्मानजनक उपस्थितिबाहेक भारतीय कांग्रेस पार्टीले सर्वत्र अपमानजनक पराजय भोगेको छ।

उत्तर प्रदेशमा योगी आदित्यनाथलाई उनको गृहनगर ‘गोरखपुर’मा सीमित राख्ने घोषणाका साथ चुनावमा गएको समाजवादी दलले कुल १३० स्थानमा विजय या अग्रता कायम गरेको छ।

मुख्यमन्त्री योगी राजधानी लखनाउमा पुगेका छन् जहाँ शुक्रबार पार्टी केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा नवनिर्वाचित विधायकहरुको बैठकहरुमा उनलाई पुन: नेतृत्वमा छनौट गर्ने अपेक्षा गरिएको छ। नाथ पन्थी योगी गोरखपुरस्थित प्रसिद्ध गोरखनाथ मठका महन्थ हुन्, जसको आध्यात्मिक र धार्मिक सम्बन्ध नेपालसँग प्रगाढ रुपमा रहिआएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here