गणतन्त्रलाई अलोकप्रिय बनाउने नेताहरु प्रतिगामी कि नेताहरुलाई खबरदारी गर्दै लेख्नेहरु प्रतिगामी ?

73

—प्रीति रमण

गणतन्त्र स्थापना भएको १५ बर्ष पूरा भइसक्दा पनि गणतन्त्रले जनताको मन छुन सकेको छैन । गणतन्त्र जनताको लागि हो भन्ने कुराको सन्देश राजनीतिक दलका नेताहरुले दिने गरी काम गर्न सकेनन् । त्यही कारणले गर्दा गणतन्त्र अलोकप्रिय बन्दै गएको छ । गणतन्त्रको अलोकप्रियताका कारणबाट राजतन्त्रका हिमायतिहरु टाउको उठाइरहेका छन् । शाही यूवा शक्ति नेपालले आफ्नो पार्टीको ११ औं स्थापना दिवसको अवसर पारेर यही चैत २१ गते हिन्दुराष्ट्र र राजसंस्था पुनस्थापनाको पक्षमा विशाल ¥याली निकालेर नारायणहिटी कब्जामा लिने चेतावनी सार्वजनिक गरेको छ । गत आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै शाही युवा शक्तिले यस्तो चेतावनी दिएको छ । यस्तो चेतावनी दिने हिम्मत राजावादीहरुमा कसरी आयो ? यो गम्भीर विषय हो । गणतन्त्रमा जनताको अपनत्व हुन किन सकेन ?

पत्रकार सम्मेलनमा शाही यूवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले राजसंस्थाको पक्षमा अन्तिम लडाईँ लड्न चैत २१ गते सडकमा आउन आम नेपाली जनतामा आग्रह गरेका छन् । उनले फेसबुकमा ‘राजा आऊ देश बचाऊ’ भन्ने जनता सडकमा आउँनुपर्नेमा जोड दिएका छन् । यो यथार्थ हो कि, जनता सडकमा आउन सक्छन् ! जनयुद्धमा बन्दुक बोकेका नेताहरु र कार्यकर्ताहरुले समेत ‘राजा आउ देश बचाउ’ भन्दै नारा बाजी गरेको सुनिएकै छ । राजा आएर देश बचाउन सक्ने हुन् कि हैनन् भन्नेतर्पm जनवादको लागि बन्दुक उठाएकाहरुलाई जानकारी होला नै !

पशुपति खड्काले भनेका छन् — ‘काठमाडौं उपत्यकाका हरेक चुनावी क्षेत्रमा गणतन्त्रको विरोध सभा र राजसंस्थाको स्थापना भनेर कार्यक्रम गर्नेछौं ।’ चैत २१ गते रत्नपार्कमा भेला भएर ¥याली निकालेर नारायणहिटी दरबारमा जाने र हाते साङ्लो बनाएर नारायणहिटी दरबारलाई जनताको कब्जामा लिने कोशिस गर्ने पनि उनले जानकारी गराएका छन् । यो अभिव्यक्ति कति चुनौतियुक्त छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले गम्भीरतापूर्वक लिन सक्नुपर्दछ । किन यो परिस्थिति आयो ? अहिलेको अवस्थामा गणतन्त्रले सिमा नाघेको भन्दै फलस्वरुप राष्ट्रघाती एमसीसी सम्झौता नाटकिय ढंगबाट पास भएका कारणले पनि यो अवस्था सृजना भएको छ । गणतन्त्रवादी नेताहरुले देशलाई साम्राज्यवादीहरुको कब्जामा पु¥याउन खोजेको दृष्टान्तका रुपमा एमसीसी सम्झौता स्पष्ट छ ।  राजसंस्था र हिन्दुराष्ट्र तत्काल नफर्किए नेपाली जनताले दुःख पाउने तर्क गर्दै राजतन्त्र फर्काउन चाहने  शाही युवा शक्तिका नेता पशुपति खड्काले नेपाली जनता कुनै देशको सरणार्थी हुनेछन्, त्यसैले अब जनताले सशक्तरुपमा आवाज उठाउनु पर्छ भन्दै खबरदारी गरेका छन् ।

खड्काले आफूहरु राष्ट्रका लागि जुनसुकै आहुति दिन तयार रहेको भन्दै नेपाली जनताले साथ दिनुपर्ने जोड दिएका छन् । राजा हुँदा हामीसबै नेपाली जनता थियौं तर, लोकतन्त्रका नाममा गणतन्त्र आएपछि हामीसबै कार्यकर्ता भएका छौं । त्यसैले हामी सबै नेपाली जनताको अस्तित्वको बचाउनको लागि गणतन्त्र फाल्नुपर्छ,’ भन्ने निष्कर्षमा  पुगेको पनि उल्लेख गरेका छन् । शाही यूवा शक्ति नेपालका केन्द्रीय सदस्य मुकेश देवकोटाले विगत १० वर्षदेखि सहयोग गर्ने सम्पूर्ण नेपालीप्रति आभार प्रकट गरेका छन् ।  राजनीतिक दलका नेताहरुलाई ‘छोटे राजा’ को संज्ञा दिदै नेताहरुले देश बेचेर खाएको आरोप लगाएका छन् ।  उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुनः गद्दीमा बसाल्ने दाबी गरेका छन् । शाही यूवा शक्तिको शक्ति कति छ  भन्ने कुरा चैत २१ गते थाहा हुने नै छ, तथापि नारायणहिटी कब्जा गर्ने उद्घोषले निश्चित रुपमा भिड्न्तको वातावरणलाई संकेत गरेको छ ।

एमसीसीको नाममा सरकारले युरेनियम बेच्न लागेको आरोप पनि शाही युवा शक्तिले लगाएको छ । शाही यूवा शक्ति नेपालका केन्द्रीय सदस्य हरिराम गौतमले देशमा रहेका विकृतिलाई जनतामाझ ल्याएर शाही यूवा शक्तिले राजसंस्थालाई पुनस्र्थापना गर्ने दाबी गरेका छन् । आगामी दिनमा अझै सशक्त रुपमा अगाडि बढ्ने प्रतिबद्दता व्यक्त गर्दै उनले भने, ‘विदेशमा बेचिएका चेलीहरुलाई नेपाल फिर्ता ल्याएर नेपालमै पुनस्र्थापना गर्ने काममा अब हामी लाग्नेछौं ।’ रचनात्मक कामको लागि जनताको साथ हुन्छ भन्ने कुरा भारतको नयाँ दिल्लीमा अरबिन्द केजरीवालले गरेका कामबाट भारतको पञ्जाव राज्यसमेत उनको पार्टीको कब्जामा पुगेबाट स्पष्ट हुन्छ । शाही यूवा शक्ति नेपालका अर्का केन्द्रीय सदस्य राजकुमार गिरीले सरकारले देशको अर्थतन्त्र ध्वस्त पारेको भन्दै सरकार चलाउने नेताहरु विदेशीको गुलाम भएको आरोप लगाएका छन् । यो आरोपलाई एमसीसी सम्झौतामा नेताहरुको लम्पसारपनले स्पष्ट पारेको छ । उनले नेपाली जनता अबका दिनमा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दिन आएको भन्दै शाही युवा शक्ति नेपालको अभियानमा जोडिन आग्रह गरेका छन् । ‘पुर्व राजा ज्ञानेन्द्र शाहलाई श्रीपेच लगाएर हामीले छिटै नारायणहिटीमा फर्काउने हो, यसमा नेपाली जनताको सहयोग चाहिन्छ,’उनले भने ।

शाही यूवा शक्ति नेपालका केन्द्रीय सदस्य कविन्द्र देउजाले विदेशी दलालहरुले देशमा धर्मनिरपेक्षेता लागू गरेको आरोप लगाउँदै नेपाल र नेपाली जनताको हितमा हिन्दुराष्ट्र नै रहेकोमा उनले जोड दिए । शाही युवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम वैदारले सडक संघर्षको माध्यमबाटै राजसंस्था फर्काउने उद्घोष गरे । शाही युवा शक्ति नेपाल र राप्रपा बीच एकताका लागि वार्ता भइरहेको समेत उनले खुलासा गरेका छन् । ‘नेपाली जनता सडकमा आउन नचाहेको जस्तो देखेर हामी चुनावबाट केही हुन्छ की भनेर वार्तामा लागिरहेका छौं,’ उनले भने । यसरी सडक र सदनबाटै राजसंस्था पुनस्र्थापनाको प्रयास हुनु र गणतन्त्रबादी नेताहरुका कृयाकलापहरु विदेशी शक्ति राष्ट्रहरुलाई रिझाउने काममा लम्पसार भइरहनुले संकेत त्यही गरेको छ, जसको पक्षमा लेख्नेलाई प्रतिगामीको आरोप पनि लगाइनेछ । जनअपेक्षा अनुसार काम नगरेर गणतन्त्रलाई अलोकप्रिय बनाउने नेताहरु प्रतिगामी हुन कि नेताहरुले जनताको पक्षमा काम गर भनेर लेख्नेहरु प्रतिगामी हुन ? अव नेताहरुले नै जवाफ दिनु जरुरी छ ।-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here