नागढुंगा सुरुङमार्गको एक तिहाइ काम सकियो

88

काठमाडौं । नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ ।हालसम्म आर्थिक प्रगति ‘मोबिलाइजेसन एडभान्स’सहित ४३ प्रतिशत पुगेको छ ।

जमिनमा गरिने काममा सडकमार्ग खन्ने काम ७६ प्रतिशत सकिएको छ भने बाँधमा भर्ने काम ३७ प्रतिशत सकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

निर्माण गर्नुपर्ने संरचनामध्ये ‘ओभर पास’ सम्पन्न भइसकेको छ भने ‘फ्लाइओभर’ निर्माणाधीन छ ।

तीन ‘अण्डर पास’मध्ये दुई सकिएको छ र चार ‘बक्स कल्भर्ट’मध्ये तीन सकिएको छ । तीन पुल निर्माण गर्नुपर्नेमा हालसम्म दुई सकिएको छ । मुख्य सुरुङ हालसम्म पूर्वतर्फबाट ५५३ मिटर र पश्चिम तर्फबाट ५५३ मिटर गरी एक हजार १०६ मिटर सम्पन्न भएको छ ।

मुख्य सुरुङको लम्बाई दुई हजार ६८८ मिटर रहेको छ ।

‘निष्काशन टनेल’ को लम्बाइ दुई हजार ५५७ मिटरमध्ये एक हजार ३८४ मिटर सकिएको आयोजनाले जनाएको छ ।

पूर्व तर्फबाट ५०७ मिटर र पश्चिम तर्फबाट ५७७ मिटर सकिएको छ ।

‘वर्किङ अडिट’ सम्पन्न भइसकेको छ । ‘क्रस प्यासेज’ १२८ मिटर लम्बाईमध्ये हालसम्म ४८ मिटर खनिसकेको छ ।

गत महिनामा ३० प्रतिशत भौतिक प्रगति रहेकामा एक महिनामा थप पाँँच प्रतिशत प्रगति भएको हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ‘सफ्ट लोन’ मा निर्माणाधीन सो सुरुङमार्ग नेपालको पहिलो सुरुङ हो ।

जापान सरकारको ‘सफ्ट लोन’ मा विसं २०७६ कात्तिकमा ४२ महिनामा सम्पन्न गर्ने गरी सो आयोजना निर्माण सुरु भएको थियो ।

नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने विभागले जनाएको छ ।

आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुई वटा सुरुङको निर्माण हुनेछ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् ।

एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक सुरुङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here