राजाबादीहरु जनतामा, गणतंत्रबादीहरु बालुवाटारमा !

51

काठमाडौं / दुई तिहाई बहुमत निकटको कम्युनिष्ट पार्टीको सरकारलाई अवधि नपुग्दै ढालेर नेपाली कांग्रेसलाई सत्ता सुम्पिएर  अग्रगमनको नारा लगाइरहेका सत्ता गठबन्धनका नेताहरुलाई आगामी निर्वाचनमा राजावादीहरुले उछिन्ने संकेत भइरहेको छ । सत्ता गठबन्धन दलका नेताहरु चुनावी तालमेल र भागबण्डाका लागि बालुवाटार प्रधानमन्त्री निवास फन्को  लगाउन छोडेका छैनन् । तैपनि सहमति बन्न सकेको छैन । नेपाली कांग्रेसले चुनावी तालेमेलका नाममा स्थानीय निकायका धेरैजसो पदहरुमा आफ्नो दावी कायम गरिरहेको छ । सत्ता गठबन्धनका अन्य दलहरु केही पदहरुमा  खुम्चिएर बस्नु पर्ने अवस्था देखिएको छ । उम्मेदवारी दर्ताको प्रकृया सुरु हुन  अव ३ दिन मात्र बाँकी छ । तर नेताहरुले भागबण्डालाई मिलाउन सकेका छैनन् । स्थानीय तहमा नेपाली कांग्रेसका कार्यकर्ताहरु तालमेलको पक्षमा देखिएका छैनन् । केन्द्रबाट जबरजस्ती तालमेल गरियो भने जिल्ला तहमा विद्रोह हुन सक्ने बलियो सम्भावना देखिएको छ । यसरी नेपाली कांग्रेस पनि गठबन्धन तालमेलका कारणबाट विभाजित हुन सक्ने देखिएको छ ।

चुनाव नजिएको बेलामा प्रत्येक दिनको कति महत्त्वपूर्ण छ र नेता तथा कार्यकर्ताले त्यसको कसरी सदुपयोग गर्नुपर्छ भन्ने बारे सत्तागठबन्धन दलका नेताहरुले बुझ्न सकेका छैनन् । राप्रपाले चुनावी आमसभाहरुमा आफ्नो प्रभाव देखाइरहेको छ । प्रतिगमनलाई परास्त गरियो भनेर नेकपा एमालेका बिरुद्ध संगठित बन्ने प्रयास गरिरहेका दलहरुले देशमा प्रतिगमनलाई नै आमन्त्रण गरिरहेका छन् ।

सत्तागठबन्धन दलहरुबीच  भागबण्डा नटुंगिँदा गत  सोमबार मात्रै गठबन्धनको बैठक दुईपटक बसेको थियो । मंगलबार पनि बैठक बस्यो, तर पनि सहमतिका लागि भएका प्रयासहरुमा नेकपा एसका अध्यक्ष माधव नेपालले ‘हामी अपमान सहन्नौं’ भनेर प्रतिकृया सार्वजनिक गरिरहनु भएको छ । यता नेपाली कांग्रेसका जिल्ला तहका नेताहरु नेपाली कांग्रेसले जित्न नसक्ने ठाउँमा तालमेल गर्नै नहुने भनेर अडान लिइरहेका छन् । माओवादी केन्द्रबाट पार्टी छोड्ने लहर नै चलिरहेको छ । महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंग्याएपछि पनि अन्य कैयौँ पालिकाहरुको भागबण्डा टुंग्याउन सत्तागठबन्धन दलभित्र निक्कै समस्या देखिएको छ । दैनिकजसो भागबण्डा केन्द्रित बैठककै कारण सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु चुनाव केन्द्रित कार्यक्रममा सहभागी हुन सकेका छैनन् । जबकि सत्ता गठबन्धनको प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी ओलीसमेत देश दौडाहामा निस्किसकेका छन् । चुनाव भनेको जनताबाट मत प्राप्त गरेर विजय हुने आधार हो । जनताकाबीचमा नपुगेर बालुवाटारमै परिक्रमा लगाएर चुनावमा बिजय हुन सकिदैन भन्ने कुरा सत्तागठबन्धन दलका नेताहरुले बुझ्न सकिरहेका छैनन् ।

केपी ओलीले  दैनिकजसो विभिन्न जिल्ला पुगेर सभाहरुमा सहभागिता जनाइरहेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि जिल्ला दौड अभियानलाई निरन्तरता दिइरहेका  छन् । यता सत्तागठबन्धन दलहरुबीच गठबन्धन टुट्दैन, गठबन्धन तोड्ने प्रयास भइरहेको छ भन्दै दुखेसो व्यक्त गरिरहेको सुनिन्छ  । गत सोमबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउने प्रयास भइरहेको संकेत गर्नु भएको थियो । तर नेपाली कांग्रेसभित्रैबाट गठबन्धनलाई  भागबण्डामा ठाउँ नदिने काम भइरहेको छ । यो स्थितिले गर्दा माओवादी केन्द्र र नेकपा एस छुट्टै पार्टीको हैसियत भन्दा नेपाली कांग्रेसको निगाहमा चल्नुपर्ने अवस्था सृजना भएको छ ।

समयमै उम्मेदवार चयन गर्न नपाउँदा आफूहरुलाई अप्ठ्यारो परेको नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा आफ्नो पीडा सार्वजनिक गरेका छन् । सत्ता गठबन्धनमा सहमति नभएकाले रणनीतिक महत्व राख्ने पालिकाहरुमा समेत गठबन्धनका दलहरुले आफ्नो एजेण्डा अगाडि  सार्न सकेका छैनन् । गत मंगलबार मात्र नेकपा एसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।  आफ्नो उम्मेदवार उठ्ने निश्चित नभएपछि मतदाताहरुलाई भेट्ने कुरा पनि भएन, स्थानीय तहको समस्यालाई सम्बोधन गरेर घोषणापत्र तयार गर्नुपर्ने हुन्छ तर उम्मेदवारकै निधो नभएपछि के गर्ने ?  मातहतका कार्यकर्तालाई परिचालन गर्ने लगायतका काम गर्न निक्कै कठिन भइरहेको गुनासो माके र एसका नेताहरुले गरिरहेका छन् ।

कुन पार्टीले कुन ठाउँमा उम्मेदवार पाउने भन्ने बारे  निश्चय नहुँदासम्म तयारी हुन सकेको छैन । गठबन्धनकै नयाँ दल एकीकृत समाजवादीलाई थप प्रचारको आवश्यकता  पर्ने निश्चित छ । उसको चुनाव चिन्ह जनतामा स्थापित भएको छैन । नेकपा एमालले सूर्य चिन्हलाई जनतामा प्रचार गर्न पर्दैन । नेपाली कांग्रेसले पनि रुख चिन्हलाई जनतामा प्रचार गर्नुपर्ने अवस्था छैन । नेकपा माओवादी केन्द्रको समेत प्रचारको लागि खासै समस्या देखिदैन । तर नेकपा (एस) को चुनाव चिन्हलाई जनताका बीचमा बुझाउन निक्कै कसरत गर्नुपर्ने देखिन्छ ।

गठबन्धनमा भागबण्डा मिलेको भए पहिल्यै मतदाताकहाँ पुग्ने र आफ्नो कुरा भन्ने समय सबैदलहरुलाई उपलब्ध हुन्थ्यो । तर, समय उपलब्ध नहुँदा गठबन्धनको चुनावी प्रचार कमजोर बन्न गएको देखिन्छ । यो अवस्थाले चुनावमा पराजय सम्भावना देखिन्छ । त्यसैले नेकपा माओवादी केन्द्र र नेकपा (एस) ले समेत रुख चिन्हबाट चुनावमा उम्मेदवारी दिनुपर्ने अवस्था सृजना भएको छ । कमल थापा नेतृत्वको पछि बनेको राप्रपा नेपालले पनि नेकपा एमालेको सूर्य चिन्हबाट उम्मेदवारी दिने सम्झौता भइसकेको छ । यस आधारमा पनि नेकपा नामका माके र एसले पनि रुख चिन्हबाट चुनाव लड्दा सूर्य चिन्हलाई पछि पार्न सहज हुने विश्लेषण पनि विश्लेषकहरुले गरेका छन् ।  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here