आज २५६६औँ बुद्ध जयन्ती मनाइँदै

88

काठमाडौं । २५६६औँ बुद्ध जयन्ती विविध कार्यक्रमको आयोजना गरी सोमबार मनाइँदै छ । त्यस अवसरमा बुद्धको जन्मस्थान लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिँदै छ । बुद्ध जयन्तीकै अवसर पारेर शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरी बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले बुद्धका उपदेशको पालना गरेर हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको कुरा उल्लेख गर्नुभएको छ । उहाँले सम्पूर्ण मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्राचीन बौद्ध सभ्यताको उद्‍गमस्थल भएको हुँदा नेपालसमक्ष बौद्ध दर्शनसम्बन्धी अध्ययन र अनुसन्धानको संस्थागत विकास गर्ने ठूलो अवसर विद्यमान भएकोले सो अवसरको समुचित उपयोग गर्नुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभएको छ । उहाँले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा विकास गर्न सुदृढ राष्ट्रिय सङ्कल्पका लागि लाग्न सबैसँग आग्रह गर्नुभएको छ ।

बुद्धको शिक्षा अझै सान्दर्भिक : प्रम

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्धले दिनुभएको शिक्षा र सन्देशलाई व्यावहारिक जीवनमा उतारी जीवनलाई सुखमय र शान्तिमय बनाउनुपर्ने बताउनुभएको छ । २५६६औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले बुद्धका उपदेशको पालना गरेर समाजलाई समुन्नत बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवाले बुद्धका उपदेश अहिले पनि मानव जातिका लागि उत्तिकै सान्दर्भिक, उपयोगी र शाश्वत भएकाले मानव जीवनलाई उत्कृष्ट बनाउन बुद्धका अर्ति उपदेशलाई व्यवहारमा उतार्न जरुरी भएको कुरा सन्देशमा उल्लेख गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here