रोहित चन्दले इन्डोनेसियाको प्रिमियर डिभिजन क्लब पर्सिजा जकार्ता छाडे

169

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको प्रिमियर डिभिजन क्लब पर्सिजा जकार्ता छाडेका छन् । रोहित दुईपटक पर्सिजासँग अनुबन्ध भएका थिए । पहिलोपटक २०१३ देखि २०१५ सम्म र दोस्रोपटक सन् २०१७ देखि पर्सिजाबाट खेलेका थिए । सन् २०१५ देखि २०१७ मा भने उनी मलेसियन क्लब टी टिम एफसीमा अनुबन्ध भएका थिए ।

रोहितको मलेसिया बसाइ धेरै लामो भएन । मलेसियाबाट इन्डोनेसियामा माथिल्लो डिभिजन लिग खेल्न उनी पुनः इन्डोनेसियाको पर्सिजा फर्किएका थिए । पर्सिजासँग करिब एक दशक लामो सम्बन्ध गाँसेका रोहित अब इन्डोनेसियाकै पर्सिक कदिरी एफसीबाट लिगा वान खेल्नेछन् । पर्सिकले आइतबार सामाजिक सन्जालमार्फत नेपालका रोहितलाई अनुबन्ध गरिएको जनाएको छ । रोहितले भने शनिबार नै सामाजिक सञ्जालमार्फत पर्सिजाबाट बाहिरिएको जानकारी गराएका थिए । लामो समयसम्म विदेशी लिग खेल्ने एक मात्र नेपाली फुटबलर रोहितले पर्सिजासँगको यात्रा निकै रमाइलो भएको जनाएका छन् ।

‘युवा अवस्थामै क्लबमा सामेल हुन अवसर पाएँ, क्लबले मलाई राम्रो खेलाडी मात्र नभई राम्रो मानिस बन्न पनि साथ दियो,’ पर्सिजालाई धन्यवाद दिँदै रोहितले लेखेका छन्, ‘करिअरको उतारचढावमा क्लब सधैँ साथ रह्यो, ममाथि सधैँ  विश्वास गर्‍यो, पर्सिजाजस्तो उत्कृष्ट क्लबका लागि खेल्न पाउनु सम्मानको कुरा हो ।’ सन् २०१८ को सिजनमा पर्सिजाले लिगको उपाधि उचाल्दा उनी सर्वोकृष्ट खेलाडी बनेका थिए । रोहितले पर्सिजाबाट लिगसहित चार उपाधि जितेका छन् । रोहितले सन् २०१८ को सिजन स्मरणीय रहेको जनाएका छन् । ‘सन् २०१८ सिजन म कहिले भुल्न सक्दिनँ,’ उनले भनेका छन्, ‘त्यही सिजन पर्सिजाले लिग जित्यो र मैले लिगको उत्कृष्ट खेलाडी उपाधि उचालँे ।’

रोहितले क्लब छाड्दा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । ‘पर्सिजामा बिताएको अवधिमा मैले धेरै गर्व र सम्मानका साथ प्रतिस्पर्धा गरे,’ रोहितले लेखेका छन्, ‘पर्सिजाका लागि खेल्दा रमाइलो अनुभूति गरे । मलाई आशा छ, हामी एक दिन फेरि कठिन यात्रा पार गर्छौँ ।’ रोहित र पर्सिजाबीचको सम्झौता यही मार्चसम्म थियो । यद्यपि, क्लबले रोहितसँग सम्झौता नवीकरण गर्नेबारे छलफल जारी राखेको थियो । तर, रोहित नयाँ चुनौती सामना गर्ने उद्देश्यका साथ पर्सिक कदिरीसँग आबद्ध भएका छन् । पछिल्लो समय नेपाली फुटबलमा रोहितसँगै अन्य १० खेलाडीले राष्ट्रिय टोलीको बन्द प्रशिक्षक छाडेको प्रसंग निकै विवादित बनिरहेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडीबीचको विवादको असर आसन्न एसिया कप २०२३ छनोटमा परेको छ । एन्फाले सिनियर खेलाडीविना नै एसिया कप छनोटका लागि टोलीको घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here