काठमाडौं । नेवा: पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको आयोजनामा सञ्चालित १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्तीले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई संविधानले दिएको हक अधिकारका विषय आफ्नो पत्रकारितामा मार्फत उजागर गर्न सुझाव दिनुभयो । उहाँले पत्रकारिता मार्फत आदिवासी जनजाति समुदायका उत्थान तथा विकासका विषयलाई मुल प्रवाहमा ल्याउन केन्द्रित हुन आग्रह गर्दै तालिम प्राप्त सबै प्रशिक्षार्थीलाई पत्रकारिता क्षेत्रमा उज्ज्वल भविष्यको कामना व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा अतिथिका रुपमा सम्बोधन गर्दै आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई पत्रकारिता क्षेत्रमा इमान्दारिताका साथ खोज अध्ययन गरेर सत्यतथ्य बुझेर पत्रकारिताकाे कार्यमा लाग्न सुझाव दिएका छन् ।
साथै कार्यक्रमका सभापति एंव नेवा पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाका अध्यक्ष अरविन्द मान सिंहले यस तालिमले नवोदित पत्रकारहरुका लागि पत्रकारिता क्षेत्रमा लाग्न जग बसालेको जनाउनुभयो । उहाँले घर बनाउन जसरी जग चाहिन्छ,त्यस्तै यस तालिमले प्रशिक्षार्थीहरुलाई पत्रकारिता क्षेत्रमा आफ्नो जग बसालेको जनाउनुभयाे ।
अध्यक्ष सिंहले प्रशिक्षार्थीहरुको माग अनुसार निकट भविष्यमा थप तालिमको आयोजना गरिने समेत जनाउँदै पत्राकारिता गर्न अनुशासित र निरन्तरता दिनु पर्ने जाेड दिदै तालिम लिएका सबै प्रशिक्षार्थीहरुलाई थप अनुशासित र निरन्तर भएर आफुले प्राप्त गरेको ज्ञानलाई सदुपयोग गर्दै यस क्षेत्रमा अगाडी बढ्न सुझाव दिनुभयो ।
समापन कार्यक्रममा प्रमुख अतिथिका तर्फबाट तालिममा सहभागी सबै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । साथै सामाजिक विकास विभागका प्रमुख पदम केशर अधिकारीबाट मायाको चिनो साथै आयोजकका तर्फबाट अध्यक्ष सिहंले तालिम प्रदान गर्नुहुने सबै प्रशिक्षकलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । काठमाडौं महानगरपालिकाको सहयोग रहेको उक्त १५ दिने तालिम जेठ १५ गतेदेखि जेठ २९ गतेसम्म सञ्चालन गरिएको थियो । तालिममा ५७ जना प्रशिक्षार्थीको सहभागी रहेको थियो ।
















