पहिरो जोखिममा कपुरकोट

42

सल्यान । कपुरकोट बजार पहिरोको जोखिममा परेको छ ।  खारा पहिरोको कारण कपुरकोट गाउँपालिका–३ को कपुरकोट बजार, राप्ती लोकमार्ग वर्षेनि भासिँदै गएको छ ।

प्रत्येक वर्ष सडकसहित बजार रहेको जमिन भासिँदै गएको छ ।  अन्य समयभन्दा वर्षामा जमिन धेरै भासिने गरेको छ । पहिरोका कारण कपुरकोट बजारका चार दर्जनभन्दा बढी घरधुरी जोखिमा रहेका छन् । कपुरकोट–२ कपुरकोटका केशव शर्माले दिन प्रतिदिन जमिन भासिँदै गएपछि स्थानीयवासी त्रसित भएको बताउनुभयो । उहाँका अनुसार वर्षेनी बग्दै गएको पहिरोकै कारण बजारमा रहेको केही घरहरु बगेका छन् ।

सडक छेउमा रहेका घरहरु जमिनसँगै भासिएका छन् । राप्तीलोक मार्ग पनि भासिँदै गएको छ ।  स्थानीय मधुसुदन गिरीले घर भासिएपछि क्षति भएको बताउनुभयो । उहाँका अनुसार पहिरोले बस्ति जोखिममा परेको छ । भासिएको जमिनमा रहेका घरमा दिउँसो व्यवसाय सञ्चालन गरी राति अन्तै बस्न जाने गरेका छन् । पहिरोको कारण बजार, राप्ती राजमार्ग र कालिका माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ ।

आठ वर्षअघि वर्षासँगै आएको पहिरोले बजार नजिकैको कालिका माविका ३ भवन बगाएको थियो । बीच बजारमा रहेको राजमार्ग २ मिटर भासिँदा २ पक्की घरसहित दर्जन घुम्ती भत्किएका छन् । कपुरकोट ३ तारादेवी सेनले पहिरोले भासिएका मर्मत गरी भासिएका र चर्किएका घरमा बस्दै आएको बताउनुभयो ।

बस्तीदेखि करिब ४० मिटर दूरीमा रहको खारा पहिरोबाट निरन्तर माटो बगिरहन थालेपछि थप जोखिम रहेको स्थानीय भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘२०७०को विनासकारी भूकम्प पश्चात जमिन भासिने क्रम पहिलेभन्दा बढेको छ ।’’

पहिरोको लम्बाई ७०० मिटर, चौडाई ३०० मिटर, गहिराई ३० मिटर गरी कुल १६ हेक्टर क्षेत्रफल रहेको छ । पहिरोलाई रोकथाम गर्न केन्द्रीयस्तरको करिब एक करोड बजेट विनियोजन गरी बायो इन्जिनियरि प्रविधि तथा इन्जिनियरि स्टक्चर समेतको निर्माण कार्य तत्काल अगाडि बढाउनुपर्ने देखिन्छ ।

लोकमार्ग बग्ने खतरा
कपुरकोट बजारमा जमिन भासिँदै गए राप्ती लोकमार्ग पनि जोखिममा परेको छ । सडक पहिरोको जोखिम क्षेत्रमा रहेको छ । यसलाई समयमै रोक्न सकिएन भने लोकमार्ग नै अवरुद्ध हुने खतरा बढेको छ ।

स्थानीय घनश्याम शर्माले राप्ती लोकमार्ग भासिएमा सल्यान, रोल्पा रुकुम र डोल्पा भएर आवतजावत गर्ने जनजीवन प्रभावित हुने तथा अर्बौंको क्षति हुने बताउनुभयो । उहाँका अनुसार पहिरोको दीर्घकालीन रोकथाम हुन नसकेमा पहिरोले बाढीको रुप लिने छ । सल्यान कपुरकोट बजार क्षेत्र, पाखापानी, राम्री, दाङ जिल्लाको तुल्सीपुर नगरपालिकाको रक्षाचौर, बसपार्क उरहरी र बैबा क्षेत्रको बस्तीमा समेत क्षति पुग्ने देखिन्छ । प्रतीक इच्छुक शर्मा गाेरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here