साहित्य, सङ्गीत र कलाबिना समाज र देश पूर्ण नहुने : प्रधानमन्त्री

65
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, सङ्गीत, कला मुलुकको अमूल्य गहना भएको बताएका छन् ।

पूर्वराजदूत प्रतिभा राणाको नेपाली कविता सङ्ग्रह ‘गहिराइ’ र अङ्ग्रेजी कृति ‘कर्टेन अफ माया’ को विमोचन समरोहमा प्रधानमन्त्री देउवाले साहित्य, सङ्गीत र कलाबिना समाज र देश पूर्ण हुन नसक्ने बताए ।

त्यसैले ती क्षेत्रको विकासका लागि विभिन्न प्रतिष्ठान स्थापना गरी सरकारले विभिन्न कामहरु अघि बढाएको उनले जानकारी दिए । प्रधानमन्त्री देउवाले नेपाली भाषा, साहित्य, वाङ्मय हिजोको तुलनामा समृद्ध हुँदै गएको स्मरण गरे।

“कथा, कविता, उपन्यास, नियात्रा, समालोचनालगायत सबै विधामा नेपाली भाषाका उत्कृष्ट सिर्जना हुन थालको छ”, प्रधानमन्त्री देउवाले भने, “नेपाली साहित्यलाई थप परिस्कृत र परिमार्जित गर्दै विश्व साहित्यसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउनु आवश्यक छ ।”

उनले नेपाली साहित्यको विकासमा लाग्न साहित्यकारलाई आग्रह पनि गरे । त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास पनि दिलाए ।

असल साहित्यले मानिसलाई भित्रबाटै अभिप्रेरित गर्ने, मानिसको सोचाइलाई फराकिलो र जीवनलाई अर्थपूर्ण बनाउन सहयोग पु¥याउने उनले उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले मुलुकमा पुरुष साहित्यकारको वर्चस्व रहेको सन्दर्भमा महिला साहित्यकारको उपस्थिति बढ्दै गएकोमा खुसी व्यक्त गरे । उनले नेपाली साहित्यले गहिराइ समेट्न थालेकोमा प्रशंसा पनि गरे ।

उनले राजनीतिक र सामाजिक व्यक्तित्वका रूपमा परिचित लेखक प्रतिभा राणा कुशल साहित्यकार रहेको कुरा आज मात्रै जानकारी प्राप्त भएको बताए ।

समारोहमा समालोचक प्रा डा ज्ञानु पाण्डे र समालोचक राम लोहनीले कृतिको बारेमा टिप्पणी गरेका थिए । साहित्यकार पाण्डेले काव्य संवेदनशील भएको भन्दै राणाले साहित्य लेखन किन ढिलाइ गर्नुभएको भनी प्रश्न गरे ।

लेखक राणाले यी दुई कृति आफूले २१ वर्षको उमेरदेखि लेखेको कविताको सङ्गालो भएको बताइन् । यस कृतिमा मानवीय जीवनका प्रेम, गाथा, प्राकृतिक सौन्दर्य, ईश्वरीय देनलगायतका विविध विषय समावेश भएको उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here