चुनावपछि को बन्ला प्रधानमन्त्री ?

116
प्रचण्डलाई गठबन्धनले भावी प्रधानमन्त्रीको रुपमा स्वीकार गरेको संकेत /कांग्रेसमा असन्तुष्टि विस्फोटक बन्दै
काठमाडौं/आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा आगामी प्रधानमन्त्री कुन पार्टीबाट को बन्ला भन्ने पनि चासोको विषय भएको छ । यतिखेर सत्ता गठबन्धन र विपक्षी नेकपा एमालेको गठबन्धनबीच निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने भएको छ । आगामी प्रधानमन्त्री पनि यिनै गठबन्धनको दलका प्रमुख नेता नै हुने निश्चित जस्तै छ । सत्ता गठबन्धनबाट कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाबेदारी हुनेछ भने विपक्षी गठबन्धनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दाबेदारी रहनेछ ।
निर्वाचनमा सत्ता गठबन्धन र विपक्षी गठबन्धनले पाउने मतभारबाट प्रधानमन्त्रीको टुंगो लाग्ने निश्चित त छ नै तर प्रमुख दलहरुको गठबन्धनका कारण सत्ता गठबन्धन विपक्षी गठबन्धनभन्दा केही अघि छ । त्यसैले आगामी निर्वाचनमा विशेषगरी देउवा र प्रचण्डमध्ये कोही एक नै प्रधानमन्त्री बन्ने सम्भावना धेरै छ । यद्यपि, सत्ता गठबन्धनले हालसम्म निर्वाचनपछि कुन दलले प्रधानमन्त्री पाउने भन्ने टुंगो लगाएको छैन । यता, एमाले भने ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै निर्वाचनमा उत्रिएको छ ।
हाल ठूलो दलको रुपमा कांग्रेस रहेको र निर्वाचनका लागि भएको बाँडफाँटमा पनि धेरै सिट पाएकाले कांग्रेस चुनावपछि ठूलो दल बन्ने सम्भावना छ । तर, हाल पनि गठबन्धनबाट कांग्रेसले प्रधानमन्त्री पद पाएको कारण आगामी दिनमा भने माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गरेका छन् । उनले सार्वजनिक रुपमा नै अवसर पाए मुलुकको नेतृत्व गर्ने इच्छा रहेको जनाउँदै आएका छन् ।
प्रचण्डले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सत्ता गठबन्धनभित्र छलफल नभएको तर अवसर पाए आफूलाई नेतृत्व गर्ने इच्छा भएको जनाएका हुन् । ‘म प्रधानमन्त्रीको निम्ति भन्नेमा त छैन । तर, अवसर आयो भने देशको नेतृत्व गर्नुपर्छ र एकचोटी आर्थिक विकासबारे प्रचण्डको के रछ भन्ने स्थापित गर्नुपर्छ भन्ने आकांक्षा छ । आकांक्षा नै नभएको होइन,’ प्रचण्डले भनेका छन् ।
जनचाहना पनि अबको प्रधानमन्त्रीमा आफूलाई नै देख्न खोजेको उनको दाबी छ । ‘अब त प्रधानमन्त्री तपाईं नै हो भन्छन् जता गए पनि । म रेसमा छैन भनिराख्या छु तर, पनि सबैले भन्छन् । म अध्ययन गर्दैछु मान्छेहरु किन मलाई अहिले नै प्रधानमन्त्री जस्तो गरेर हेरिराख्या छन् जताततै ? कहीँ कार्यक्रम भयो भने वक्ताहरुले त्यसरी नै बोल्छन् । हुँदा हुँदा माधव नेपालजीले नै बोलिदिनुभयो,’ प्रचण्डले भनेका छन् । आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार विकासमा ध्यान दिएको, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोरको परिकल्पना र विद्युतीकरणको परिकल्पना अगाडि सारेको र दोस्रो पटक प्रधानमन्त्री हुँदा राष्ट्रिय एकता र विकासको मोडल र लोकतन्त्रको सुदृढिकरणमा ध्यान दिएको उनले दाबी गरे । त्यसैले पुनः प्रधानमन्त्री बने विकासमा फड्को मार्ने गरी काम गर्ने उनले जनाए ।
कांग्रेसबाट पुनः देउवा प्रधानमन्त्रीको रुपमा दोहोरिन पनि सहज छैन । उनलाई दलकै अन्य नेताले संसदीय दलको नेताको चुनावमा चुनौती दिने पक्का छ । संसदीय दलको नेता चयन भएपछि मात्र उनले प्रधानमन्त्रीमा दाबेदारी दिन सक्छन् । त्यसैले देउवाले पनि सार्वजनिक रुपमा नै हालसम्म सत्ता गठबन्धनमा कोही प्रधानमन्त्रीको रुपमा टुंगो नलागिसकेको जनाउँदे आएका छन् । केही दिनअघि सम्पन्न पाँच दलीय गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गदै देउवाले आफूलाई प्रधानमन्त्री बनाउन गठबन्धनको बनेको नभई यो आजको आवश्यकता भएको जनाएका थिए ।
यद्यपि, कांग्रेस स्रोतका अनुसार आगामी प्रधानमन्त्रीको विषयमा दुईटा विकल्प देखिएको छ । एउटा आलोपालो सरकारको नेतृत्व लिने । हाल सत्ता गठबन्धनमा रहेका दलका प्रमुख नेताहरुले आलोपालो निश्चित समय सरकारको नेतृत्व लिने भनेर सहमति हुन सक्छ । अर्कोतर्फ, माओवादीलाई प्रधानमन्त्री दिएर कांग्रेसले राष्ट्रपति पद लिने । यो सहमतिअनुसार माओवादी अध्यक्ष प्रचण्ड बन्ने र राष्ट्रपति आरजू राणालाई बनाउने । यो विकल्पमा देउवा र प्रचण्डबीच छलफल भइसकेको र गोप्य सहमति पनि भएको विश्वस्त स्रोतको भनाइ छ ।
त्यहीकारण प्रचण्ड पनि आत्मविश्वासका साथ अहिले सार्वजनिक रुपमा आफू प्रधानमन्त्री बन्न चाहेको जनाउँदै आएका छन् । ‘अब त मलाई धेरै अनुभव भइसक्यो । जनताले पनि मलाई भरोसा गरेकै देख्छु म । त्यो भरोसालाई देशको नेतृत्व गरेर आर्थिक विकासमा फड्को हान्ने, केही ठूला परियोजना र केही साना परियोजनाको संयोजनमार्फत फड्को हान्न मन छ मलाई,’ उनले भनेका छन् । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here