दलाल पुँजीपतिको हातमा अर्थतन्त्र देशको प्रमुख समस्या !

28
देश दलालतंत्रको कब्जामा गैसकेको छ, विकास र समृद्धिको अपेक्षा गर्दै व्यवस्था परिवर्तनका लागि नेपालमा पटकपटक आन्दोलन भए । राणा शासन, पञ्चायत, राजतन्त्रलाई फालेर नयाँ व्यवस्था ल्याइयो । मुलुक लोकतान्त्रिक गणतन्त्र नेपाल बन्यो, तरपनि देशको अर्थब्रयवस्था दलालहरुको पकडमा परेको छ , जनताले गुजारा चलाउन पनि नसक्ने अवस्था बिकसित भएको छ । जनतालाई समृद्धिको सपना देखाउने राजनीतिक दलहरुले पटकपटक सत्ताको बागडोर सम्हाले । तर, विकासको जुन सपना जनताले देखेका थिए, दशकौं बित्दा पनि पूरा हुन नसक्दा देशमा अहिले चरम निराशा बढेको छ । नेपालको राजनीतिक इतिहासमा खासगरी प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरु नै सत्ताको आसपासमा रहँदै आएका छन् । यसबीचमा कम्युनिस्ट पार्टीहरुले कैयौं पटक सत्ता सञ्चालन गर्ने मौका पनि पाएका छन् । सर्वहारा वर्गको हकहितको वकालत गर्ने र साम्यवादलाई आफ्नो गन्तव्य मान्ने ती कम्युनिस्ट दलहरुले सत्तामा पुग्दा भने वास्तविक श्रमिकको हितमा खासै काम गर्न सकेका छैनन् ।
देशमा व्यवस्था परिवर्तन भए पनि गरिब, मजदुरको पक्षमा काम हुन नसकेको मात्र होइन, दलाल पुँजीपतिहरुको दबदबाले विकास र समृद्धिको बाटो पनि बन्द गर्दै आएको छ । दलाल पुँजीवादको अर्थ हो, उत्पादनलाई रोक्ने र विदेशी आयातलाई जोड दिने । लगानी, व्यापार, वा आर्थिक एवं राजनीतिक फाइदाका लागि क्रियाशील विदेशी संगठनको एजेन्टको रूपमा काम गर्ने व्यक्ति नै दलाल पुँजीपति हो । विदेशी वस्तु तथा सेवाको कारोबारमा निजी क्षेत्रले गर्ने कारोबार तथा स्वदेशमा हुने विदेशी लगानी पनि दलाल पुँजी मानिन्छ । पछिल्लो समय यस्तै दलाल पुँजीवाद नेपालमा हावी हुँदै गएको छ ।
विगतमा कम्युनिस्ट मूल्यमान्यतालाई आत्मसात् गर्दै गरिब शोषित पीडित वर्गको हितका लागि युद्धमा होमिएका नेताहरु अहिले नवधनाढ्य रुपमा उदाइरहेका छन् । दलाल पुँजीपतिको प्रभावका कारण उनीहरु उत्पादनलाई जोड दिने नीतिनियम बनाउन चुक्नुका साथै देशका होनहार युवालाई खाडीमा बेच्न मात्र उद्यत देखिन्छन् । दलाल पुँजीपतिहरु अहिले व्यवस्थालाई नै प्रभावित पार्दै निर्वाचनमा पनि होमिएका छन् । अहिले विभिन्न व्यवसायी, ठेकेदारहरु चुनावबाट निर्वाचित हुने क्रममा रहेकाले उनीहरु फेरि राजनीतिमा आउँदा दलाल पुँजीवादलाई नै टेवा दिने निश्चित छ ।
आफू उत्पादन नगर्ने, विदेशबाट आयातमा मात्र जोड दिने, कर्मचारी, नेता वर्गलाई कमिसन दिएर आफ्नो पक्षमा पार्ने दलाल पूँजीवादको चरित्र हो । व्यवस्था परिवर्तन भए पनि पुँजीपति वर्गले राजनीतिक दल र तिनका नेतालाई प्रभावमा पार्दा देशको पुँजीवादी चरित्रमा परिवर्तन आउन सकेको छैन । सोही कारण अहिले मुलुकको अर्थतन्त्र नै धराशायी बनेको छ । नेपालले अहिले खर्बौंको आयात गर्दा निर्यात भने अर्बको आसपासमा छ । उत्पादन शून्य छ भने समाजमा उपभोगवादी चरित्र मौलाएको छ । रोजगारीका विदेश जाने र त्यहाँबाट आएको पैसाले आयातित सामान उपभोग गर्ने प्रवृत्ति छ । देशमा भएको पूँजीलाई उत्पादनमा जोड्ने दिशामा सरकारले काम गर्न सकेको छैन । यही कारणले मुलुकमा अहिले मूल्यवृद्धिको विकराल समस्या बनेको छ । कोभिड र रुस–युक्रेन युद्धका कारण अहिले विश्वका थुप्रै देशमा समसयाहरु देखिन थालेको छ । नेपालजस्तो आयातमा नै भर पर्ने देशहरु अझ बढी  समस्यामा परेका छन् । उपभोग्य सामानको अचाक्ली मूल्यवृद्धिले सर्वहारा वर्गको दैनिकी कष्टपूर्ण बनाएको छ । जबसम्म सरकार, राजनीतिक दल र तिनका नेता दलाल पुँजीपतिको मुठ्ठीमा रहन्छन्, तबसम्म गरिब वर्गलाई सास्ती भोग्दै  गुज्र्रनु वर्ने छ, आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here