टुँडिखेलमा दुई दिने थारू माघी महोत्सव हुने

24

काठमाडौं । उपत्यकामा काम विशेषले बस्ने थारु समुदायले दुई दिने थारु माघी महोत्सव २०७९ मनाउने भएका छन् । पुस ३० र माघ १ गते टुँडिखेलमा हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुनेछ ।

थारु राष्ट्रिय माघी महोत्सव २०७९ मूल आयोजक समिति, काठमाडौंको आयोजनामा हुन गइरहेको महोत्सवमा करिब एक सय वटा स्टल रहने आयोजकले जनाएको छ । बुधबार यहाँ पत्रकार सम्मेलन गरी आयोजकले सो कुराको जानकारी गराएको हो । थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिको संयोजकत्व तथा विभिन्न २५ वटा थारु सङ्घ संस्थाको सहसंयोजकमा हुने महोत्सवमा थारु सांस्कृतिक प्रदर्शनसँगै, भेषभुषा, अधिकारका सवालबारे बहस हुने मूल आयोजक समितिका संयोजक तथा थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो ।

थारु समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएको छ । यसअघि कोभिडकालमा महोत्सव हुने सकेन । थारु समुदायको कला, संस्कृति, भेषभुषाको प्रदर्शन र समुदायको राजनीतिक मागमुद्दा सम्बोधनका लागि खबरदारी गर्ने थलोको रूपमा मनाइँदै आएको महोत्सवमा यस वर्ष करिब पन्ध्र लाख रुपियाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।

थाकसका उपमहामन्त्री मिनराज थारुले महोत्सव नाफामुखी नभएर समुदायको भाषा, संस्कृति, पहिचान र अधिकारको प्रचार र खवरदारीका लागि आयोजना गर्ने गरिएको बताउनुभयो । यस वर्ष महोत्सव पुस ३० र माघ १ गते दुई दिन हुने उहाँले जानकारी दिनुभयो । महोत्सवको करिब सबै तयारी पूरा भइसकेको उहाँले बताउनुभयो ।

महोत्सवमा थारु हस्तकला, थारु खानाका परिकार, थारु पत्रपत्रिका तथा जर्नल, थारु नृत्य प्रदर्शनसहित राजनीतिक मुद्दामा बहस हुने महोत्सव आयोजक समितिका सदस्यसचिव कानुनलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार महोत्सवले थारु पहिचानको संरक्षण तथा संवर्द्धन गर्ने काम गरिरहेकाले महोत्सवको महत्त्व रहेको बताउनुभयो ।

थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष तथा महोत्सव टेन्ट व्यवस्थापन उपसमितिका संयोजक चन्द्रप्रसाद थारुले महोत्सवका लागि आर्थिक स्रोत सङ्कलन तथा अन्य व्यवस्थापनको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार महोत्सवमा आउने दर्शकलाई निःशुल्क रूपमा प्रवेशको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । महोत्सवमा करिब एक लाख दर्शकले अवलोकन गर्ने उहाँको भनाइ छ ।

माघे संक्रान्तिलाई थारु समुदायले सबैभन्दा ठूलो पर्वको रूपमा मनाउँछन् । पश्चिमा थारु समुदायले नयाँ वर्षको रूपमा मनाउने माघी पर्वलाई ठाउँअनुसार माघ, माघी, तिला संक्राइट, खिचराका नामले पनि चिनिन्छ । यस पर्वमा विशेषगरी थारु परिकारमा ढिक्री, अनदीको भात (पचिचर), झझरा, तिलको लड्डु, भुजा, सुंगुरको मासु, माछा तथा सिध्राको परिकार, गंगटा, मुसाको चटनी, लैया, जाँरको झोल, महुवाको रक्सी, सिन्की तथा वयरको चटनी रहने गर्छन् ।

महोत्सवको अवसरमा रक्तदान कार्यक्रम, मोटरसाइकल र्‍याली, खेलकुद प्रतियोगिता, जिता मार्ने कार्यक्रम, झाँकी प्रदर्शन गरिने आयोजक समितिले जनाएको छ । माघ महिनामा थारु  समुदायले माघी दिवानी मनाउने र हरहिसाव गरेर खातापाता नयाँ सञ्चालन गर्ने गर्छन् । स्वतन्त्रताको प्रतीकको रूपमा पनि थारु समुदायले यस पर्वलाई मनाउने गर्छन् ।

कमैया प्रथा कायम रहेकाबेला माघ १ गतेदेखि नै कमैयाहरुलाई जमिन्दारले खरिद बिक्री गर्ने र सौंकीमा मोलमोलाई गर्ने गर्थे । सरकारले २०५७ साउन २ गते मुक्त कमैया देश भनेर घोषणा गरेपछि कमैया प्रथाको अन्त्य भएको थियो । त्यही सम्झनामा माघीलाई थारु समुदायले स्वतन्त्रताको प्रतीकको रूपमा मनाउन थालेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here