छायाँदेवी कम्प्लेक्समा नेपाल बार एसोसियसनले वार्षिक साधारणसभा राखेपछि विरोध

153

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २६ थँवहीस्थित ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवम् धार्मिक महत्वको सार्वजनिक कमलपोखरी पुरेर बनाइएको छायाँदेवी व्यापारिक कम्प्लेक्समा खोलिएको Hotel Aloft मा शनिबार नेपाल बार एसोसियसनले आफ्नो वार्षिक साधारणसभा तथा पदभार कार्यक्रम राखेपछि जनताले सडकमा उभिएर विरोध गरे ।
छायाँदेवी व्यापारिक कम्प्लेक्स बनाई सार्वजनिक पोखरी हडप्नेविरूद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । यस्तो अवस्थामा छायाँदेवी कम्प्लेक्समै बार एसोसियसनले कार्यक्रम गर्नु न्यायालयलाई प्रभाव पार्नु नै हो ।

स्थानीय जनताको तर्फबाट स्थान परिवर्तनको निम्ति माघ ४ गते बिहीबार सम्पदाप्रेमी भागवत नरसिंह प्रधान, नरेश श्रेष्ठ, विकल प्रजापति, शिवराम ग्वाछा र राजवीर डङ्गोललगायतले हस्ताक्षर गरी एसोसियसनको कार्यालय रामशाहपथमा लिखित अनुरोध गरेका थिए । तर, बार एसोसियसनले स्थानीय जनताको अनुरोधलाई बेवास्ता गरी सोही स्थानमा पदभार कार्यक्रम सम्पन्न ग¥यो । नेपाल बार एसोसियसनको उक्त कदमविरूद्ध सम्पदाप्रेमी स्थानीय जनताले माघ ७ गते छायाँदेवी कम्प्लेक्सको अगाडि धर्ना बसेर विरोध गरे ।

धर्नामा सम्पदाप्रेमीहरूले सम्पदा मास्न पाइँदैन, छायाँदेवी कम्प्लेक्स भत्काउनैपर्छ, सार्वजनिक सम्पत्ति रक्षा गर ¤ लगायतका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।
थँवहीस्थित सो पोखरी निजी गर्नेविरूद्ध भवन निर्माण हुनु अगाडि विसं २०६९ सालमै स्थानीय जनताले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा जिल्ला अदालतले सार्वजनिक पोखरी निजी गरेकै पक्षमा फैसला गरेको र पुनरावेदनले पनि विपक्षी नझिकाई सुरू फैसला नै सदर गरेको थियो । त्यसपछि विसं २०७१ सालमा ‘लाहुनिर्प’ नामको संस्था र दीपकविक्रम मिश्रले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले जिल्ला अदालत काठमाडौं र पुनरावेदनले गरेको फैसला गुठी संस्थान ऐन २०३३, मालपोत ऐन २०३४ विपरीत भएको जनाउँदै उक्त मुद्दा दोहो¥याउन निस्सा प्रदान गरेको हो । सो मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ । सर्वोच्चले उक्त मुद्दाको सुनवाइ नगरी पटकपटक पेशी सारेर सरोकारवालाहरूलाई तारेखमै अल्झाइराखेको छ । यस्तो अवस्थामा कानुन व्यवसायीहरूको छाता सङ्गठन बार एसोसियसनले नै सोही भवनमा कार्यक्रम गर्नुले सार्वजनिक पोखरी निजी गर्नेकै पक्ष लिएको देखियो । तसर्थ, बारका सम्पूर्ण कानुन व्यवसायीहरूलाई छायाँदेवी कम्प्लेक्स भत्काई सार्वजनिक कमलपोखरी नै कायम गर्न स्थानीय जनताले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here