यी १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु

66

काठमाडौं ।  आज (बिहीबार)देखि १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ। आज (फागुन ११ गते)देखि सुरु भएको अभियान फागुन २५ गतेसम्म सञ्चालन हुने छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको हो।

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने राष्ट्रिय संकल्प रहेको छ। कुल जनसंख्याको ६५ प्रतिशतलाई अनिवार्य रुपमा औषधि खुवाउनु पर्नेमा लक्ष्य रहेकोमा हालसम्मको सर्वेक्षणमा ४९.६७ प्रतिशतले औषधी खाएको पाइएको छ।

स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोग फोकलप्रशन मिन बहादुर धामी यो औषधि सेवनले ९९ प्रतिशत मानिसहरु परजीवि मुक्त भएको दाबी गर्दै सम्पूर्ण मानिसले खान आवश्यक रहेको बताउँछन्।

यसपटक अभियान सञ्चालन भएका जिल्लामा स्वास्थ्य मापदण्डअनुसार सम्पूर्ण नागरिकले औषधि सेवन गरेको सुनिश्चितता गर्न स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा ३ प्रकारका औषधी खुवाइने छ।

२ वर्ष उमेर माथिका सबै मानिसले औषधि खानुपर्नेमा बिगतमा अभियान सञ्चालन गर्दा केहीले नियमित रूपमा खाने, तर शिक्षित, सहरी क्षेत्र र विपन्न वर्गका मानिसहरू बिहानै काममा निस्कने हुँदा नखाइदिने कारणले अपेक्षा गरिएअनुसार अभियान सफल हुन नसकेको कार्यक्रमका सहभागी स्वास्थ्यकर्मीहरुले बताएका थिए।

हात्तीपाइलेको औषधि कसले खाने, कसले नखाने?
हात्तीपाइलेको औषधि २ वर्ष उमेर पूरा भएका सबैले सेवन गर्नुपर्छ। तर २ वर्ष नपुगेका बालबालिका, सिकिस्त बिरामी, गर्भवती र ७ दिनसम्मका गर्भवतीले भने हात्तीपाइले रोग विरुद्धको औषधि खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ।

हात्तीपाइले रोग मानिसलाई नराम्रोसँग शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविका कारणले लाग्छ। संक्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन्।  लक्षण देखिइसकेपछि भने रोग निको पार्न सकिँदैन।

हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि रोगको जोखिम भएका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here