फागुन २५ गते हुने राष्ट्रपति चुनावमा सर्वसम्मत हुन सके राम्रो : प्रधानमन्त्री प्रचण्ड

23

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वसम्मत गर्न सकिए त्यो राम्रो हुने धारणा राखेका छन् ।

माओवादीसहित ८ दलबाट शनिबार राष्ट्रपति उम्मेदवारी दिइएको जनाउँदै उनले नेकपा एमालेसँग कुराकानीबाट राष्ट्रपतिमा सर्वसम्मत हुन सके राम्रो हुने जनाए ।

८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति उम्मेदवार छन्। नेकपा एमालेबाट नेता सुवासचन्द्र नेम्वाङ राष्ट्रपति उम्मेदवार छन्।

‘चुनावमा हामी एउटा गठबन्धनबाट गएका थियौं। तर म भिन्न तरिकाले प्रधानमन्त्री भएँ,’ गोरखाको बारपाक सुलिकोटमा आज भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजोमात्र फेरि राष्ट्रपति चुनावका लागि मनोनयनसम्म आइपुग्दा ८ दल एक ठाउँमा भइयो। एमालेसँग पनि कुराकानी भइरहेको छ।’

उनले फागुन २५ गते हुने राष्ट्रपति चुनावसम्म राष्ट्रपतिमा सर्वसम्मत हुने अवस्था सिर्जना हुन सके त्यो राम्रो हुने बताएका थिए। ‘नयाँ राजनीतिक यात्रा स्थायित्व र विकासका लागि हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने।

प्रधानमन्त्री प्रचण्ड दिलबहादुर रम्तेलको स्मृति सभा र सहिद परिवार सम्मानका लागि बारपाक सुलिकोट पुगेका हुन्। उनले आज पालुङटार पुगेर मतदातालाई धन्यवाद दिने कार्यक्रम पनि छ। मंसिर ४ को चुनावमा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here