मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो : सभामुख

66

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका छन्।

शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताए।

सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे।

मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखा परेको सभामुख घिमिरेको बुझाइ छ।

उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए।

सभामुख घिमिरेले सरकार र पत्रकारबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए।

उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेरमात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरूले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए।

सभामुख घिमिरेले भने, ‘पत्रकारहरू जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो। अन्यथा नलिनुहोला। यो पत्रकार महासंघ हो। त्यो खालको छैन। पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ। जेजे कारणले भए पनि तिनीहरू प्रभावित छन्। अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू। अब पत्रकारहरू बिक्रीमा छन्। संघ विक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन। र, त्यो भन्नु पनि हुँदैन तपाईंहरूले। किन यो त हाम्रो आफ्नो भित्री कुरा हो नि। त्यसको प्रभाव चाहिँ कुनै न कुनै रूपमा परिरहेको छ। बिग हाउसहरूले प्रभावित पारेको छ। थर्काएर गरेको छ। किनेर गरेको छ। फकाएर गरेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here