बेल्जियमले युरो २०२४ को छनोटमा स्वीडेनमाथि सानदार जित दर्ता

35

एजेन्सी । फरवार्ड रोमेलु लुकाकुको ह्याट्रिक सहयोगमा बेल्जियमले युरो २०२४ को छनोटमा स्वीडेनमाथि सानदार जित दर्ता गरेको छ ।

बेल्जियमले स्वीडेनलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । लुकाकुले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पूरा गरे ।

फ्रेन्ड्स एरिना सोल्ना स्वीडेनमा शुक्रबार राति भएको खेलको ३५औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले डोडी लुकेबाकियोको पासमा गोल गर्न सफल भएका थिए । लुकाकुले सन् २०२१ पछि बेल्जियमको लागि गोल गर्न सफल भएका हुन् ।

४९औं मिनेटमा लुकाकुले डोडीकै पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे । त्यसपछि ८२औं मिनेटमा लुकाकुले ह्याट्रिक पूरा गर्दै बेल्जियमलाई सानदरा जित दिलाए । उनले जोहान बाकायोकोको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै समूह ‘एफ’ मा बेल्जियमले ३ अंक बटुलेको छ । स्वीडेन अंकविहीन छ । यही समूहको अर्काे खेलमा अष्ट्रियाले अजरवैजानलाई ४–१ ले पराजित गर्दै शीर्षस्थानमा रहेको छ ।

४१ वर्षीय ज्लाटन इब्राहिमोभिच झन्डै एक वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेपनि टोलीलाई जिताउन सकेन । ज्लाटन ७३औं मिनेटमा एलेक्सान्डर इसाकको स्थानमा मैदान प्रवेश गरेका थिए ।

४१ वर्ष, पाँच महिना र २१ दिनको उमेरमा इब्राहिमोभिच युरोपियन च्याम्पियनसिप छनोट खेल्ने दोस्रो पाका खेलाडी बनेका छन् । यसअघि शुक्रबार राति नै जिब्राल्टरका फरवार्ड लि कासियारोले सन् १९८३ मा इटालियन गोलरक्षक डिनो जोफले बनाएको कीर्तिमान तोडेका थिए । कासियारो ज्लाटनभन्दा चार दिनले जेठो छन् ।

गतसाता एसी मिलानका स्ट्राइकरले उडिनेसविरुद्धक पेनाल्टीमा गोल गर्दै इब्राहिमोभिच सिरी ए इतिहासमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बने ।

इब्राहिमोभिचले आफू ४२ वर्षको हुँदा अर्को वर्ष जर्मनीमा हुने युरो २०२४ मा खेल्ने र प्रतियोगितामा भाग लिने सबैभन्दा पाको उमेरका खेलाडी बन्ने बताएका छन् ।

नयाँ प्रशिक्षक डोमिनिको टेडेस्कोले आफ्नो प्रशिक्षणको पहिलो खेलमा सानदार जित दर्ता गर्दै सुखद् सुरुवात गर्न सफल भएको छ । फिफा विश्वकप २०२२ पछि प्रशिक्षक रोबर्टाे मार्टिनेजले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि डोमिनिको बेल्जियमको प्रशिक्षक बनेका थिए । रोबर्टाे पोर्चुगलको प्रशिक्षक बन्दै सुखद् सुरुवात गर्न सफल भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here