मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानले अबको मन्त्रिपरिषद् बैठकबाट जाँचबुझ आयोग गठन

22

काठमाडौं  । मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानले अबको मन्त्रिपरिषद् बैठकबाट जाँचबुझ आयोग गठन नभएसम्म घर नफर्कने बताएका छन् ।
‘सरकारसँग हिजो पाँचबुँदे सहमति भएको छ । सरकारसँगको सहमति कार्यान्वयन हुनेमा आशावादी छौं । हामी घर फर्कने त हो । तर मन्त्रिपरिषद् बैठकबाट जाँचबुझ आयोग गठन नभएसम्म फर्कंदैनौं । आज वा भोलि आयोग गठन भयो भने हामी फर्कंन्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै पासवानले भने ।
उनले सरकारसँगको पाँचबुँदे सहमति कार्यान्वयनका लागि दबाब दिइरहने पनि बताए । पासवानले भने, ‘मिटरब्याज पीडितको संघर्षको उपलब्धिस्वरुप कानुन बन्दैछ । अधिकारसम्पन्न ऐन २०२६ बमोजिम जाँचबुझ आयोग गठन हुँदैछ । मिटरब्याज पीडितका जे जति समस्या छन्, तीन समस्या चाँडै समाधान हुन्छन् भन्ने विश्वास राखेका छौं । हामी सहमति कार्यान्वयनका लागि दबाब दिइरहन्छौं ।’
बर्दिबासबाट ११ दिन हिँडेर आएका ८०–८१ जना मिटरब्याज पीडितमध्ये कतिपय बिरामी भएकाले आज स्वास्थ्य जाँच गर्ने पनि पासवानले बताए । उनले थपे, ‘उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाउनुभएको छ । आज जाँच भएपछि हामी भोलिमात्र फर्कन्छौं ।’ सरकारले मिटरब्याज पीडितको सुरक्षामा ध्यान दिनुपर्ने पनि उनले औंल्याए । पासवानले भने, ‘घुँघट तोडेर आएका मिटरब्याज पीडितलाई सुरक्षाको चुनौती छ । पीडित साथीहरुले अब सुदखोरको निगरानी राख्नुपर्छ । यसमा सरकारले पनि सहयोग गर्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here