नेपाली नागरिकलाई अनागरिक बनाउँदै विदेश पठाउने कार्य लज्जास्पद : शेखर कोइराला

35

काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरण कुनै बाहनामा ढाकछोप गरे कांग्रेस अप्ठ्यारोमा पर्ने बताएका छन्।

उनले नेपाली नागरिकलाई अनागरिक बनाउँदै विदेश पठाउने कार्य लज्जास्पद भएको बताए।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा फस्नुभएको छ, फसाइएको छ, जे सुकै होला। त्यसले नेपाली कांग्रेसको मात्र होइन हामी सबै नेपालीको शिर निहुरिएको छ,’ प्रजातान्त्रिक विचार समाजको महाधिवेशनमा बुधबार बोल्दै कोइरालाले भने, ‘यो लज्जास्पद र राष्ट्रघाती काम भएको छ।’

उनले कुनै पनि बाहनामा यो प्रकरण ढाकछोप गर्न नहुने बताए। ‘कुनै बाहनामा पनि यो प्रकरणलाई ढाकछोप गर्न हुन्न, ढाकछोपको कोसिस गर्‍यौं भने कांग्रेसको अवस्था के हुन्छ? अप्ठ्यारो स्थिति हुन्छ। देशकै अवस्था पनि नाजुक भएर जान्छ,’ उनले भने, ‘यो मुद्दा नेपालभित्र मात्र सीमित छैन, अन्तर्राष्ट्रियकरण भइसकेको छ। अरू मुद्दा ल्याएर यो मुद्दा कमजोर बनाउने हो कि भन्ने चिन्ता लागेको छ।’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि पक्राउ परेका छन्।

उनले दोषीहरूलाई चोख्याउने काम गर्न नहुने पनि बताए। ‘जुनसुकै दल वा जुन तहका व्यक्ति भए पनि कानुन बमोजिम कारबाही हुनैपर्छ,’ उनले भने।

फरक प्रसंगमा कोइरालाले आगामी दिनमा हुने जुनसुकै निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताए। कोइरालाले पछिल्ला दिनमा राजनीतिक दल र नेताहरूप्रति जनताको धारणा नकारात्मक रहेकोले नेताहरू सुध्रनुपर्ने बेला आएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here