संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली पारित

34

काठमाडौँ । संघीय संसदले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित गरेको छ ।
आइइतवार बसेको संयुक्त बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । यसअघि २०७५ सालमा बनेको संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि पत्र प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ गरिसक्नुपर्ने बाध्यता थियो ।

 अन्यथा नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था उक्त नियमावलीमा थियो । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदन स्वतन्त्र र साना राजनीतिक दलहरुलाई निषेध गर्ने किसिमले ल्याइएको बताए । उनले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफलका क्रममा प्रतिवेदनले राष्ट्रिय सभालाई समेत नजरअन्दाज गरिएको उल्लेख गरे ।

उनले परिमार्जित यस नियमावली साविकको भन्दा उत्कृष्ट हुनुपर्ने भएपनि त्यसअनुसार नरहेको जिकिर गरे । उनले बिना संसदीय सुनुवाई संवैधानिक परिषद्का पदाधिकारी लगायतको नियुक्ति स्वतः सदर हुने किसिमको नियम २६ पुरानै व्यवस्था रहेको दाबी गरे । देवकोटाले सिफारिस स्वतः सदर हुने भन्ने विषय सबैभन्दा बढी विवादित भएको भन्दै यसमा दलहरुले ध्यान दिन नसकेको बताए ।

संयुक्त बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले कर्मकाण्डी राजनीतिबाट जनतालाई अशिक्षित र बेरोजगारी बनाउने काम भइरहेको बताए ।

राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले संसदीय सुनुवाई समितिमा १२ र ३ को अनुपात गणितीय र राजनीतिक रुपमा पनि राम्रो नभएको बताए । उनले संसदीय सुनुवाई समितिमा ११÷४ को अनुपात हुनुपर्ने बताए ।

राष्ट्रिय सभा सदस्य देवले दुवै सदनको अस्तित्व स्थापित गर्नेगरी संयुक्त बैठकको अध्यक्षता प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षले पालैपालो गर्ने व्यवस्था लागू हुनुपर्ने बताए ।
संघीय संसदको संयुक्त बैठकबाट प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदन नियम २ देखि ४३ सम्म र सम्बन्धित अनुसूचि संयुक्त सदनको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को अंग बनेको घोषणा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here