सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल बुढामगरलाई सम्मान

30

 

काठमाडौं । नेकपा (एमाले) ले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्नुभएका हरि बुढामगरलाई सम्मानित गरेको छ । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको हो ।

सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उहाँलाई सम्मानित गरेको एमालेले जनाएको छ । सगरमाथाको सफल आरोहण अपाङ्गता भएका व्यक्तिको मात्रै नभएर सबै नेपाली र विश्वकै लागि प्रेरणादायी रहेको अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओलीले उहाँको सो सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको चर्चा गर्नुभयो । सो असाधारण काममा सहयोग गर्ने र प्रेरणा दिनेहरूप्रति पनि ओलीले आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “वास्तवमा हरि बुढामगरजीको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ । मानिसले साहस गरेमा, मानिसले सङ्कल्प गरेमा असम्भव केही छैन ।”

‘संसारको सबभन्दा अग्लो शिखर सगरमाथा चढेर आउनु भएको छ । म उहाँलाई सगरमाथाको शिखरमाथि शारीरिक अपाङ्गता, त्यही पनि घुडामाथिबाटै खुट्टा विच्छेद भएको मानिसको उचाइ उहाँले थप्नुभएको छ’ अध्यक्ष ओलीले भन्नुभयो, “उहाँ सबैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । यसकानिम्ति म उहाँलाई बधाई भन्न चाहन्छु । यो सफलता हामी सबैको सफलता हो । नेपालीहरूकै सफलता हो ।”

यो विश्वकै एउटा साहसको सफलता हो । सङ्कल्पको सफलता हो । केही गर्छु भन्ने अठोटको सफलता हो भन्नुहुँदै अध्यक्ष ओलीले थप्नुभयो, “असाधारण व्यक्तिबाट भएको हुनाले हामीले उहाँलाई यो सम्मानको कार्यक्रम आयोजना गरेको हौँ । यस सम्मान कार्यक्रमको सन्दर्भमा म उहाँलाई हौसला दिने, प्रेरणा दिने, साहस दिने, गर्न सकिन्छ भनेर उत्साहित गर्ने, उहाँलाई पर्वतारोहणमा प्रशिक्षण, तालिमजस्ता कुराहरू उपलब्ध गराउने र उहाँलाई साथ दिने सबै महानुभावहरूलाई धन्यवाद भन्न चाहन्छु ।”

कीर्तिमानी सगरमाथा आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिहरूमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोहण गरेको बताउनुभयो । त्यस अवसरमा उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाभन्दा पनि साथ र अवसर दिन आग्रह गर्नुभयो । बुढामगरले आफ्नो सगरमाथा आरोहणले नेपाल र नेपालीको शिर सगरमाथाभन्दा उच्चो राख्न सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाईँहरूको छरछिमेकमा जेजति अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ । उहाँहरूलाई सहयोग र अवसर दिनुहोला । हामीलाई दया र मायाभन्दा पनि अवसर दिन आग्रह गर्न चाहन्छु ।”  ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा बुढामगरले दुवै खुट्टा गुमाउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here