डेनमार्कले युक्रेनलाई एफ–१६ लडाकु विमान दिने

17

मस्को । डेनमार्कका लागि रुसी राजदूतले डेनर्माकले युक्रेनलाई एफ–१६ लडाकु विमान दिने प्रस्तावले थप ‘द्वन्द्व’ सिर्जना हुने चेतावनी दिएका छन् । आइतबार डेनिस प्रधानमन्त्री मेट फ्रेडेरिक्सनले युक्रेनलाई यो र आगामी वर्षभित्र १९ वटा एफ–१६ विमान सहयोग गर्ने घोषणा गरेकी थिइन् ।

‘हामी आज युक्रेनलाई १९ वटा एफ–१६ विमान दिने घोषणा गर्दछौँ । डेनिस विमानले युक्रेनलाई आफ्नो आकाश सुरक्षित राख्न मद्दत मिल्छ भन्ने हामीले विश्वास लिएका छौँ,’ उनले भनेकी थिइन् ।

आगामी नयाँ वर्षभित्र ६ वटा, अर्को वर्ष ८ वटा र त्यसपछि थप ५ वटा लडाकु विमान युक्रेनलाई दिने योजना रहेको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री फ्रेडेरिक्सनले जानकारी दिएकी थिइन् । त्यस्तै, नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटले पनि युक्रेनलाई एफ–१६ लडाकु विमान प्रदान गर्ने जानकारी दिएका थिए ।

यसबारे प्रतिक्रिया दिँदै राजदूत भ्लादिमीर बारबिनले भने, ‘डेनमार्कको कदम र शब्दले युक्रेनलाई रुससँगको तनाव जारी राख्ने एक मात्र विकल्प छाडेको छ । यस्तो विकल्पले युक्रेनलाई थप रसातलमा धकेल्नेछ ।’

उनले युक्रेनले एफ–१६ लडाकु विमान दिँदैमा कुनै परिणाम नआउने बताए । ‘रुसको राष्ट्रिय सुरक्षालाई सुनिश्चित गर्नका लागि चलाइएको विशेष सैन्य अभियानको उद्देश्य प्राप्ति भएरै छाड्नेछ,’ राजदूत बारबिनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here