कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री श्रेष्ठ

15

म्याग्दी,  भदौ १९ गते ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुुगेको मुुस्ताङको कागबेनी बस्ती पुुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताउनुुभएको छ ।

गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्नुहुँदै उहाँले भन्नुभयो–  “ऐतिहासिक पर्यटकीय तीर्थस्थल कागबेनीको बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्वका साथ अघि बढाउँछ ।” सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाढीका कारण क्षति पुुगेका भौतिक संरचनाको पुुनर्निर्माण गरिने गृहमन्त्री श्रेष्ठले बताउनुुभयो ।

कालीगण्डकी नदीको बगरमा थुप्रिएको नदीजन्य वस्तुका कारण उत्पन्न जोखिम तथा क्षति न्यूनीकरण गर्दै बस्तीलाई सुरक्षित बनाउने विषयमा ढङ्गले छलफल गरिने उहाँले बताउनुुभयो । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने गृहमन्त्री श्रेष्ठले बताउनुुभयो ।

“कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले गम्भीरताका साथ पहल गर्नेछ,” उहाँले भन्नुुभयो, “बेनी–जोमसोम–कोरला सडकमा बाह्रैमास यातायात सञ्चालनको व्यवस्था मिलाउन लागिपरेका छौँ ।” क्षतिग्रस्त सडक, पुुल, खानेपानी, विद्युत् र सिँचाइ आयोजना पुुनर्निर्माणको काम तत्काल अघि बढाइने उहाँको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले बाढीले क्षति गरेको कागबेनीको बस्तीको निरीक्षणका साथै स्थानीय तह, प्रशासन र सुरक्षा निकायका अधिकारीसित छलफल गर्नुभएको थियो । कागखोलाको बाढीबाट रु. एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र रु. ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ ।

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत भौतिक पूर्वाधारतर्फ रु. २१ करोड दुई लाख बराबरको क्षति पुगेको तथ्याङ्क छ । स्थानीयका ५० घरमा रु. ५२ करोडभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ । बाढीबाट २९ घरमा पूर्ण क्षति तथा १५ घरमा आंशिक क्षति पुगेको थियो भने बाढीले बगाउँदा २४ पशुचौपाया मरेका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here