बीआरआईमा सक्रियतापूर्वक सहभागी जनाउने प्रमकाे उद्घोष

23

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रियतापूर्वक सहभागी जनाउने उद्घोष गरेका छन्।

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भई न्युयोर्कबाट सोझै चीनको हाङ्जाउ पुगेका प्रधानमन्त्री दाहालले त्यहाँ चिनियाँ राष्ट्रपति सी जिङपिङसँग बीआरआईले ट्रान्स हिमालयन त्रिपक्षीय नेटवर्कलाई प्रबर्द्धन गर्ने र यसले नेपालको आर्थिक विकासमा ठूलो सघाउ पुग्ने बताए।

प्रधानमन्त्री दाहालको अभिव्यक्ति बीआरआई परियोजना अनुदानमा बनाउन उनले चिनियाँ पक्षसँग आग्रह गर्लान् भनी गरिएको अनुमानविपरीत आएको छ।

‘नेपालले राष्ट्रपति सीले पठाएका महत्त्वपूर्ण बुँदाहरुको समर्थन गर्दै चिनियाँ पक्षसँग साझा रुचि र उपयुक्त दिशालाई प्रबर्द्धन गर्न साझेदारी गर्न चाहना राखेको’ प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै चाइना न्यूजले लेखेको छ।

राष्ट्रपति सीले नेपाल र चीन दुवै पक्षले एकअर्काका महत्त्वपूर्ण चासो र रुचिका मुद्दालाई बुझ्ने र सघाउ पुर्‍याउनुपर्ने भन्दै द्विपक्षीय सम्बन्धका राजनीतिक धरातललाई सुदृढ गर्नुपर्ने बताएका थिए।

‘चीन र नेपालले संयुक्त रुपमा बीआरआई परियोजना अगाडि बढाइरहेका छन् जसले सकारात्मक परिणाम दिइरहेको छ र त्रिपक्षीय ट्रान्स हिमालयन नेटवर्कले आकार लिन थालेको छ,’  सीले भने, ‘दुवै पक्षले भौतिक संरचनाको जडानमा केन्द्रित हुँदै यातायातको सहकार्यको विस्तार गर्नुपर्छ जसले नेपाललाई ल्यान्ड लक्ड देशबाट ल्यान्ड लिंक्ड देशमा रुपान्तरण गर्नेछ।’ सीले चिनियाँ व्यवसायीहरुलाई नेपालमा लगानी गर्न र चीनमा नेपाली वस्तुको निर्यात प्रबर्द्धन गर्न पनि आग्रह गरे।

 उनले चीनले नेपालको आर्थिक र सामाजिक विकासमा मद्दत गर्न आफ्ना अनुभवहरु नेपाल पक्षसँग बाड्न इच्छा राखेको पनि राष्ट्रपति सीले बताए।

राष्ट्रपति सीले चीन र नेपालले अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरुमा वृहतर साझा रुचि राख्ने तथा नेपालसँग बहुआयामिक सहयोगका पक्षहरुलाई सुदृढ गर्नेमा जोड दिएका थिए। उनले दुई देशका साझा रुचिलाई अघि बढाउँदै मानवताका लागि साझा भविष्यसहितको समुदाय बनाउन प्रबर्द्धन गर्ने पनि बताएका थिए।

प्रधानमन्त्री दाहालले राष्ट्रपति सीलाई ‘भिजनरी विश्व नेता तथा सबै नेपालीको असल साथी’का रुपमा प्रशंसा गरेका थिए।

‘नेपाल र चीन साथी र साझेदार हुन् जसले एकअर्कालाई बुझ्छ, एकअर्कामा भर पर्छ र एकअर्कालाई सघाउ पुर्‍याउँछ,’ दाहालले चीनलाई नेपालको निर्माण, गरिवी निवारण र महामारीबिरुद्ध अभियानमा पुर्‍याएको सहयोगका लागि धन्यवाद दिँदै भने।

उनले एक चीन नीतिमा ऐक्यबद्धता जनाउँदै ताइवान र तिब्बत चिनियाँ भूभागका अभिन्न अंग रहेको बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here