गैर कानुनी रूपमा स्थापना गरिएकाे छायाँदेवी कम्प्लेक्सबारे अन्तर्राष्ट्रिय चासो बढ्दै

153

काठमाडौं । पुरातात्विक ऐतिहासिक कमलपोखरी माँसेर बनाइएको छायाँदेवी कम्प्लेक्सबारे अन्तर्राष्ट्रिय चासो बढेको छ । संयुक्तराष्ट्रसंघको सम्पदा हेर्ने निकायदेखि मानवअधिकार, आदिवासीको हक अधिकारमा सक्रिय प्रतिष्ठित संस्थासम्म यसबारे तथ्यसहित उजूरी परेपछि अध्ययन भएको छ । अध्ययनपश्चात् छायाँदेवी सेन्टरका नाममा विभिन्न समयमा जवाफ मागिएको छ । तर, छायाँदेवी सेन्टरका सुमन पाण्डेको नाममा झुटो जवाफहरु गएको छ । छायाँ सेन्टर भत्काउने गरी अदालतको आदेश आउनुबाहेक विकल्प नभएपछि पोखरी हात पार्ने गिरोह नै अदालतलाई फैसला गर्नबाट रोक लगाइरहेको छ । यसमा शम्भु थापालगायत नाम चलेका वकिलहरु नै लागेका छन् ।

छायाँ सेन्टरमा पाँचतारे एलफ्ट होटल रहेको छ । उक्त होटलको सम्बन्ध मेरियट इन्टरनेशनलसँग रहेकोले चासोका साथ पत्र नै पुगेको छ । त्यहाँ अन्तर्राष्ट्रिय संघसंस्थाको कार्यक्रम नगर्न दबाब बढाइएको छ । छायाँ सेन्टर निर्माण मानवअधिकारको गम्भीर उल्लंघन देखि आदिवासीको अधिकार खोस्ने गतिविधिका रुपमा समेत व्याख्या भएको छ । यसले छायाँ सेन्टरमा रहेको भीसा सेन्टर पनि सार्न दबाब परेको छ । अर्कोतर्फ, त्यहाँ लगानी गर्नेहरु हच्किएका छन् । लगानीकर्ताबारे विवादास्पद विषय सार्वजनिक हुनथालेपछि आइपीओ खोलेर सर्वसाधारणलाई डुबाउने र पुरातात्विक सम्पदा माँसेको आरोपबाट पनि उम्कने योजनामा पृथ्वीबहादुर पाण्डको गिरोह सक्रिय छ ।

छायाँ सेन्टरमा कतिपयले विना लगानी शेयर पाएका छन् । ती पृथ्वीबहादुर पाण्डेका आफन्त र शक्तिशाली व्यक्तिहरु छन् जसले छायाँ सेन्टर ठड्याउन सघाएका थिए । विरोधलाई दबाउन भूमिका खेलिदिएका छन् । पहुँचवाला व्यक्तिहरुको शेयर हुनुले प्रमाणित दस्तावेजले मोहियानी कायम नहुने राजगुठी अन्र्तगतको पोखरीको जग्गा निजी गुठी दाबी गरी मोहियानी कायम गरी योजनावद्ध तरिकाले मोही कट्टा गरी पटक पटक किनबेच गरी लालपूर्जा घुमाएर पहुँच र प्रभावका भरमा भवन निर्माण भएको तथ्य प्रमाण छ । रोचक त यो छ कि उतिबेला काठमाडौं महानगरपालिकाका कर्मचारी समेत यो प्रकरणमा प्रभावमा परेका थिए ।

जग्गा नामसारी गर्दा गुठी संस्थान अन्र्तगतको काठमाडौंस्थित गुठी कार्यालयका कर्मचारीलाई प्रभावित पारिएको छ भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाका कर्मचारीलाई प्रभावित पारिएको थियो । पुरातात्विक महत्वको विवादास्पद जग्गामा महानगरपालिकाले १४ तल्ले भवनको नक्शा पास गरिदिएको थियो । निर्माण हुँदै गरेको भवनलाई महानगरपालिकाले हतार हतार छ महिना अगावै निर्माण सम्पन्नको प्रमाणपत्र दियो ।

के हो जग्गा प्रकरण

कमलपोखरीको हडपिएको १२ रोपनी १३ आना २ पैसा २ दाम जग्गा प्रचलित बजार मूल्य चार अर्ब रुपैयाँभन्दा बढी छ । यो जग्गाको विषयमा अदालतमा मुद्या परेपछि अगाडि बढ्न नदिने चलखेल निकै भयो । तर, कम्प्लेक्स बनेको ‘गुठी रैतानी’ को जग्गाको मुद्या अगाडि बढाउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि भूमाफिया अत्तालिए ।

छायाँ सेन्टरका अध्यक्ष पृथ्वीबहादुर पाँडे जग्गा हात पार्न निकै मथिंगल लगाए । उनले शक्तिकेन्द्रमा रहेकालाई गोल्डेन शेयर दिएर समेत मिलाए । राज्य सञ्चालन गर्ने देखि अख्तियार, पुरातत्व विभाग, गृह प्रशासन मात्र नभई तत्कालीन सेनापतिलाई समेत हातमा लिएका थिए पाण्डेले । सबै शक्ति लगाएर उनले छायाँ सेन्टर त ठड्याए तर ऐतिहासिक पोखरीको दस्तावेज मेट्न सकेनन् । गुठी संस्थानले गोप्य तरिकाले राखेको दस्तावेजमा छायाँ सेन्टर पोखरीमाथि बनेको तथ्य प्रमाण सुरक्षित छ ।

कमलपोखरी रहेको प्रमाणिक दस्तावेज

कमलपोखरीको जग्गामा केशर शमशेर राणाले राणा शासनकालमा प्रभाव देखाएर हडपेको तथ्य गुठी संस्थानको दस्तावेजहरुले देखाएको छ । राणाका सन्तान जग्गा दाबी गर्दै अदालतमा पुग्ने र गुठियारहरुलाई प्रभावमा पार्ने गरिरहे । त्यसपछि पाँडे परिवारको हातमा पुगेको उक्त जग्गामा कम्प्लेक्स निर्माण भयो । जिम्मेवारी र जवाफदेहिता हुनुपर्ने राज्यको महत्वपूर्ण पदमा पुगेकाहरु समेत विवादमा मुछिएको तथ्य खुल्यो ।

२०२४ साल जेठ १ गतेको गुठी संस्थानको दस्तावेज अनुसार कमल पोखरीको डिलको २६ रोपनी जग्गा हडपेर सट्टाभर्ना समेत नदिइएको उल्लेख छ । दस्तावेजको बुँदा नम्बर ४ मा भनिएको छ, ‘फिल्ड मार्सल केसर शमशेर जबराबाट क्याम्पा भित्र पारी पर्खाल लगाई चलन गर्नु भयो र पोखरीको आयस्ता वापत रु १२५ सालना दिने गरेको छ । पोखरीको डिलको जग्गाको सट्टा भर्नालाई जग्गा खोजी जाहेर गर्नु भन्ने वहाँको १९७८ साल माघ २ गतेको दस्तखत पनि छ त्यसको सट्टा भर्ना र वाली समेत आज सम्म पाएको छैन । सो गुठी जग्गाको बाली आयस्ता नपाएको वेहोरा वहाँ जीवित हुँदा निवेदन गर्दा मिलाई दिने मौखिक आश्वासन सम्म पाएको आधारमै बसी रहेको थियो त्यस पछि वहाँको रानी छेउ निवेदन गरी पठाएकोमा केही जवाफ दिनु भएन । त्यसो हुनाले गुठी संस्थानबाट सो दिलाउने विषयमा लेखा पढी भई दिए झै झगडा गरी वर्षौ सम्म अलमलिनु नपरी काम हुने थियो ।’ यसबाट जग्गा हडपिएको र आयस्ता रकम पनि नदिने जग्गा सट्टाभर्ना पनि नदिने व्यवहार देखिन्छ ।

जग्गा हत्याउन विगतबाट नै योजनावद्ध तरिकाले पहुँचवाला ठूलो गिरोह लागेको तथ्य फेला परेको छ । विवादित जग्गा राजगुठी सिंह सार्थबाहु गरुड भगवान गुठीको नामको हो भन्ने तथ्य वि.सं. १९७७ मा केसर शमशेर राणाले पोखरीको आयस्ता वापत् १ सय २५ रुपैयाँ दिने गरेको प्रमाणले देखाउँछ । गुठी संस्थानसँग उक्त जग्गा गरुड भगवान गुठीको हो भन्ने ऐतिहासिक दस्तावेज सुरक्षित छ ।

उक्त जग्गा कमलपोखरी र डिल कायम हुनुपर्ने भनी २०२७ मा दायर गरिएको मुद्यामा सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशबहादुर केसी र विश्वनाथ उपाध्यायको इजलाशले २०३३ पौष ३ गते निवेदकको पक्षमा फैसला गर्दै श्री सिंहसार्थ बाहु गरुड भगवान गुठीको मातहत गरेको पुरातात्विक महत्वको कमलपोखरी र त्यसको डिल कायम हुनुपर्ने’ भनेको छ । तर, कानुनको छिद्रमार्फत् पहुँच र प्रभाव देखाउँदै ऐतिहासिक तथा पुरातात्विक महत्वको जग्गा व्यक्तिको नाममा पटक पटक कित्ताकाट पछि खरिद विक्री भएको देखिन्छ । २०३३ को नापी अनुसार १६७ कित्ता नम्बरको जग्गा १२ रोपनी १३ आना २ पैसा २ दाम देखिन्छ । २०३९ जेठ २४ को जग्गाधनी पूर्जामा पोखरी उल्लेख गरी जग्गाधनी गुठी उल्लेख छ । २०४२ सालको फिल्डबुकमा समेत पोखरी लेखिएको छ ।

जग्गामा चलखेल

२०३३ माघ ८ मा गुठियार, केयूर शमशेर र गुठी संस्थानबीच सवोच्च अदालतमा मिलापत्र भई जग्गाको बहाल तिर्ने सहमति भएको देखिन्छ । २०३९ सालमा मोही दर्ता गरी कित्ता नम्बर १६७ विक्री गरिएको थियो । गुठी संस्थान ऐन अनुसार ऐतिहासिक तथा पुरातात्विक महत्वका पोखरी, मठ मन्दिर, बाग बगैंचा, आदि जग्गामा मोही  समेत कायम नहुने व्यवस्था भएपनि कित्ता काट गरी शुरुमा बिना पौड्याल र त्यसपछि सुधा पौड्याललाई राजीनामा गरिदिएका थिए । उक्त जग्गामध्ये बिनाले खरिद गरेको कित्ता नम्बर १६१८ र सुधाले खरिद गरेको १६१६ काम गरियो । कित्ता नम्बर १६१८ कित्ता केयूर शमशेर राणाकै नाममा रह्यो । केयूरको मृत्युपछि अम्बिका राणाको नाममा जग्गा दर्ता भयो । पौड्यालद्वयको नामको दुई कित्ता जग्गा शंकरप्रसाद शाहको नाममा पास गरियो । २०४४ मा उक्त जग्गा श्री ५ को सरकारको नाममा आयो । २०४७ मा गुठी लगत तथा तहसिल कार्यालयले रैतानी गरिदियो । तर, गुठी संस्थानले निर्णय सच्याएर रैतानी सच्याएर पुरानै अवस्थामा फर्कायो । अम्बिका राणा अदालत गएपछि अदालतले रैतानीको पुरानो निर्णयलाई सदर ग¥यो । मुद्या रोकिएन ।

२०६२ मा गुठियार र राणाबीच विवादास्पद सम्झौता भई गुठीको सबै पर्व परम्परा सञ्चालन गर्न एक करोड ५० लाख रुपैयाँ दिने र गुठियारले हकदाबी छाड्ने विवादास्पद सहमति गराइयो । गुठीको जग्गामा केही गुठियारले चलखेल गरेको तथ्य भेटिन्छ ।

२०६३ मा सुरेशाय हाउजिङलाई जग्गा विक्री गरियो । २०६४ मा सुरेशायले कित्ता नम्बर २४१२ र शंकर शाले कित्ता नम्बर १६१६ र १६१८ को विवादास्पद जग्गा प्रतिमा पाँडेलाई विक्री गरेको मालपोत कार्यालयको रेकर्ड छ । पाँडेको नाममा जग्गा पुगेपछि छायाँदेवी कम्प्लेक्स प्रा.लि.को नाममा पास गरेर छायाँ कम्प्लेक्स निर्माण प्रक्रियालाई गति दिएको देखिन्छ । प्रतिमा छाँया सेन्टर प्रा.लिंको ४३ जना शेयरहोल्डरमध्ये पर्छिन् । उनको नाममा १ करोड २४४ हजार ४ सय रुपैयाँ बराबरको सेयर छ । लगानीकर्ताहरुको लगानी रकमसहित नामावली फ्री प्रेस नेपालले सार्वजनिक गरिसकेको छ ।

कमलपोखरी हत्याएर ठडिएको कमलपोखरीमा को—को संलग्न

छायाँ सेन्टरका नाममा बनेको कम्प्लेक्समा शेयरधनीमध्य व्यापारिक घराना पाँडे परिवारका सदस्यहरुको संख्या उल्लेख्य छ । फ्री प्रेस नेपालले कम्पनि रजिष्ट्रार कार्यालयको स्रोत उल्लेख गरी सार्वजनिक गरेको नामावली र लगानी रकम अनुसार चर्चित व्यापारी पृथ्वी बहादुर पाँडेको ७ करोड ७८ लाख ३४ हजार ६ सय लगानी देखिन्छ ।

दिपकमान शेरचनको ४ करोड ७३ लाख ७१ हजार, महेश्वर प्रकाश श्रेष्ठको ३ करोड ३० लाख ५५ हजार, सिद्धान्तराज पाण्डेयको ३३ लाख ७० हजार, योगेन्द्रबहादुर शाक्यको ९४ लाख एक सय, विकाश थापाको ८३ लाख ५५ हजार, प्रजन्य राजभण्डारीको २ करोड ५० लाख ६७ हजार, सिद्धान्त बहादुर पाँडेको १९ लाख ७२ हजार, राजधानी इन्भेष्टमेन्ट फण्ड प्रा.लि. को २ करोड २४ लाख ४ हजार देखिन्छ ।

यसैगरी, सुरेश लाल श्रेष्ठको ५२ लाख, ज्ञानेन्द्र खनालको १ करोड, सिताराम महासेठको १ करोड, हिमालयन इन्फ्रास्ट्रकचर फण्ड लिंको ३ करोड ४८ लाख, महेन्द्रलाल प्रधानको २ करोड ६७ लाख ३८ हजार, रवीन्द्र राजभण्डारीको ५० लाख, महेश खनालको ५० लाख, दिक्षान्त दाहालको ६७ लाख ५० हजार, आशिष पौड्यालको ४० लाख, योगेश भण्डारीको १ करोड १५ लाख, सुमन विक्रम पाण्डेको २ करोड, अनु पाण्डे पन्तको ७८ लाख, नेमेन्द्र जंग थापाको १ करोड, मिजास भट्टचनको ३ करोड ५४ लाख १९ हजार ८ सय, किरण मान शेरचनको ६८ लाख २ हजार, मनोहर प्रसाद शेरचनको १ करोड ६० लाख ४३ हजार, शान्त बहादुर मल्लको ९४ लाख १ सय, ध्रवनारायण श्रेष्ठको ६२ लाख ६६ हजार ८ सय, प्रयुष राजभण्डारीको ५० लाख, प्रणय राजभण्डारीको ५० लाख, उर्मिला पाण्डेको ७१ लाख ५० हजार, पि.एम.एफ इन्भेष्टमेन्ट प्रा.लि.को ४८ लाख लगानी रहेको उल्लेख छ ।

यतिसम्मकी पूर्व प्रधानसेनापति प्रज्ववल शमशेर जबरा र उनकी पत्नी सिन्धु राणाको २५—२५ लाख रहेको छ । यो उनीहरुले गोल्डेन शेयर पाएको बुझिएको छ । स्याकार टे«डिङ कम्पनि प्रा.लि.को ३ करोड ५० लाख, रेखा घिमिरेको ३ करोड १० लाख, इन्दु शर्माको ९ लाख, प्रज्वल भण्डारीको ८५ लाख, प्रतिमा पाँडेको १ करोड २२ लाख ४४ हजार ४ सय, निर्मल प्रधानको ६ करोड ५० लाख, लक्ष्मी शाक्यको १० लाख, प्रेम शेभा तुलाधरको ४० लाख, रक्षक महतको ५० लाख र पारुल पाँडेको ८ लाख ७७ हजार २ सय लगानी उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here