पाल्पामा जापानिज इन्सेफ्लाइटिस रोग देखिए

40

पाल्पा । दस वर्षपछि पाल्पामा जापानिज इन्सेफ्लाइटिस रोग देखिएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–२, पोखराथोक लालपाटीका ५४ वर्षीय एक पुरुषलाई यो रोग संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

‘यसअघि यो रोग लागे पनि निदान भएको थिएन,’ स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत विश्वराज न्यौपानेले भने, ‘यसपटक रोगको निदान भएकाले पुनः देखिएको पुष्टि भएको छ ।’

रोग देखिएपछि लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा यो रोग निदान भएको हो । कलेजले स्वास्थ्य कार्यालयलाई जानकारी गराएपछि घरपरिवारका साथै कलेजसँग रोगका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ । जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले जानकारी दिए ।

संक्रमित पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घर नजिकै धान खेत, र पानी जम्ने स्थान रहेको छ । यसका लागि यो उपयुर्क्त वातावरण हो । यो रोग मान्छेबाट मान्छेमा सर्दैन । घरमाथि कुखुरा खोर, बंगुरको खोर रहेको छ । ‘घरमा पुगेर अवलोकन गर्दा सबै वातावरण मिलेको जस्तो देखियो,’ उनले भने ।

जापानिज इन्सेफ्लाइटिस संक्रमित व्यक्तिमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, काप्ने, दिक्भ्रमित हुनेजस्ता समस्या देखिने स्वास्थ्य कार्यालयका प्रमुख डा। राजेन्द्र गिरीले बताए । उनका अनुसार नेपालमा यसको विरुद्धको खोप २०७३ सालमा सुरु भएको हो । बच्चा जन्मेपछि एक वर्ष पुग्नै लाग्दा यो खोप दिइन्छ ।

जापानिज इन्सेफ्लाइटिस रोग देखिएपनि स्थलगत निरीक्षण गरिएको र लक्षण देखिएको मानिसका बारेमा जानकारी लिइएको छ । जापानिज इन्सेफालाइटिस बंगुर वा अन्य जनावरमा टोकेपछि भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । भाइरसबाट संक्रमित सुँगुर–बँगुर, हाँस तथा जंगली पंक्षीलाई टोकेपछि लामखुट्टे सङ्क्रमित हुने डा। गिरीले बताए । सोही लामखुट्टेले मानिसलाई टोक्दा रोग लाग्ने गर्छ । जापानिज इन्सेफ्लाइटिसबाट यसअघि २०६८ सालमा रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङ्गगढीमा एक पुरुषको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालयका अनुसार २०७० अघिसम्म वर्षमा एकरदुई केस देखिने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here