‘राफा’ सीमाना खुला गर्न इजिप्ट सहमत

52

काठमाडौं । गाजामा मानवीय सहायता सामग्रीको आपूर्तिका लागि आफ्नो ‘राफा’ सीमानाका खुला गर्न इजिप्ट सहमत भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनसँगको टेलिफोन वार्तामा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सीसीले यस्तो सहमति जनाएका हुन् । इजरायलको एकदिने भ्रमणकालागि बुधबार तेल अबिब पुगेका राष्ट्रपति बाइडनले त्यहीँबाटै इजिप्टका राष्ट्रपतिसँग टेलिफोनमा वार्ता गरेका थिए ।

सीमा नाका खोल्ने सहमति गरे पनि इजिप्टले सीमित मात्रामा सहायता सामग्री प्रवेशका लागि अनुमति दिने भएको छ । इजिप्टले सहायता सामग्री बोकेका २० ट्रकलाई राफा सीमानाकाबाट प्रवेश गर्न दिने बाइडनले जानकारी दिएका छन् ।

यसअघि बाइडनसँगको भेटवार्तामा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजिप्टतर्फको सीमाबाट गाजामा मानवीय सहायता सामग्री प्रवेशमा अवरोध सिर्जना नगर्ने कुरामा सहमति जनाएका थिए । तर उनले हमासले बन्धक बनाएका इजरायलीलाई रिहा नगर्दासम्म आफ्नो सीमानाकाबाट भने कुनै आपूर्ति हुन नदिने जनाएका थिए ।

यसैबीच अमेरिकाले मंगलबार राति गाजाको अल अहली अरब अस्पतालमा भएको विस्फोटमा इजरायलको संलग्नता रहेको कुनै प्रमाण फेला नपरेको जनाएको छ । हमासले उक्त आक्रमणमा इजरायलको हात रहेको आरोप लगाएको छ । तर इजरायलले भने अर्को चरमपन्थी लडाकु समूह ‘प्यालेस्टिनी इस्लामिक जिहाद’ ले प्रहार गरेको रकेट गल्तीले अस्पतालमा खसेको भन्दै आफ्नो संलग्नताको खण्डन गरेको छ ।

हमासविरुद्धको युद्धमा इजरायलको पक्षमा समर्थन जनाउन बाइडन इजरायल पुगेका थिए । तर अस्पतालमा भएको आक्रमणको घटनाले बाइडन र प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपतिलगायत केही अरब नेताबीच जोडर्नमा हुने भनिएको शिखर वार्ता भने रद्द भएको थियो । इजरायल-हमास युद्धको आज १३औं दिन हो भने यसबीच इजरायलतर्फ १४ सय र प्यालेस्टिनतर्फ ३५ सय मारिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here