नयाँ मर्यादाक्रम समेटिएको विधेयक पारित

50

काठमाडाैं । राष्ट्रिय सभाले मर्यादाक्रम निर्धारण गर्ने विधेयक सर्वसम्मतले पारित गरेको छ।

गैरसरकारी विधेयकका रूपमा राष्ट्रिय सभाका सांसदहरूले दर्ता गरेको राष्ट्रिय मर्यादासम्बन्धी विधेयकलाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मर्यदाक्रममा सामान्य संशोधन गरेको थियो।

राष्ट्र गानको प्रयोग, राष्ट्रपति, प्रधानमन्त्रीदेखि स्थानीय तहका वडा अध्यक्षसम्मको मर्यादाक्रम निर्धारण, शोक तथा सम्मानमा दिने सलामी, राष्ट्रिय झण्डाको प्रयोग लगायतका विषय समेटेर राष्ट्रिय सभाका सांसदहरूले गैरसरकारी विधेयक ल्याएका थिए।

यसअघि विधेयक ल्याउँदा सांसदहरूले सभामुख र राष्ट्रिय सभा अध्यक्षपछि प्रधानन्यायाधीशको मर्यादाक्रम राखेका थिए। तर राष्ट्रिय सभाले संविधानको धारा २९३ मा भएको संवैधानिक परिषद्को व्यवस्था अनुसार प्रधानन्यायाधीशको मर्यादाक्रम माथि राखेका छन्। अबको मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाको अध्यक्ष हुनेछन्। सभामुख र राष्ट्रिय सभाका अध्यक्षको एउटै मर्यदाक्रम हुनेछ। तर दुबै सहभागी हुने कार्यक्रममा सभामुखको मर्यादा अघि र राष्ट्रिय सभाका अध्यक्षको लगत्तै हुनेछ।

त्यसपछि पूर्वराष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायधीशको मर्यादाक्रम निर्धारण गरिएको छ। लगत्तै पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेताको मर्यादाक्रम कायम गरिएको छ।

महानगरपालिकाका मेयरहरूको मर्यादाक्रम भने १७ औं स्थानमा पुगेको छ। राष्ट्रिय सभाले पारित गरेको मर्यादाक्रमसँग सम्बन्धित विधेयक अब प्रतिनिधि सभाबाट पनि पारित भएमा त्यसले कानुनी हैसियत प्राप्त गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here