आगामी चैत ३० गतेदेखि ‘द रेड सुटकेस’ प्रदर्शनमा आउने

23

काठमाडौं ।  विश्वकै पूरानोमध्येको भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फिल्म ‘द रेड सुटकेस’ आगामी चैत ३० मा प्रदर्शनमा आउने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा अन्तर्राष्ट्रिय बजार घुमेको यो फिल्मको प्रदर्शन तय भएको हो ।

‘विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रा गरेको चलचित्र ‘द रेड सुटकेस’, अब घरेलु दर्शक माझ लिएर आउँदैछौं । अंग्रेजी नयाँ वर्ष २०२४ को शुभकामनासहित द रेड सुटकेस चैत ३० मा नेपाल भर प्रदर्शनमा ल्याउने जानकारी गराउन चाहन्छौं । साथै आम दर्शकको माया र साथको अपेक्षा गर्दछौं,’निर्माता रामकृष्ण पोख्रेलले  चलचित्रको प्रदर्शन मितिसहितको पोस्टर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

चलचित्रले विश्व बजारमा पकड बनाएसँगै ‘द रेड सुटकेस’को निर्माणमा रामकृष्णले लगाएको लगानी र हिम्मतको सबैले तारिफ गरेका छन् । यस्तो विषयमा लगानी गर्न उनलाई श्रीलंकाका निर्देशक भिमुक्थी जयसुन्दराले सह-निर्माणमा साथ दिएका हुन् ।

फिडेल देवकोटा निर्देशित यो चलचित्र  भेनिससँगै मुम्बईको मामी फेस्टिभल, जर्मनीको म्यानहाइम हेडेलवर्ग, जेनेभिया, सर्वियालगायतमा अझै घुम्दैछ । चलचित्रमा वैदेशिक रोजगारीको विषय समेटिएको छ ।

कतारबाट आइपुगेको एउटा सामग्री लिएर त्रिभुवन विमानस्थलबाट एक पिकअप ट्रक गन्तव्यतर्फ अगाडि बढ्दै गरेको दृश्यबाट चलचित्रको कथा सुरु हुन्छ । त्यही समय विमानस्थलबाट अर्का प्रवासी कामदार रातो सुटकेस बोकेर निस्कन्छन् । त्यो सामग्रीलाई गन्तव्यसम्म पुर्‍याइदिने यात्रामा हिँडेका पिकअप ड्राइभर बिस्तारै रहस्यमयी घटनाहरूमा फस्दै जान्छन् ।

राजमार्गमा एक अपरिचितले आफ्नो ठाउँमा बस्न कर गर्छन्, त्यतिबेला उक्त सुटकेसधारी पनि त्यहाँ देखिन्छन् । राजमार्गमा भेटिएका व्यक्ति, प्रवासी कामदार र रहस्यमायी घटना संयोग नभई त्यही विशेष सामग्रीसँग जोडिएको छ भन्ने कुरा ड्राइभरले अनुभव गर्दै जाने यही यात्रा फिल्ममा प्रस्तुत छ ।

चलचित्रमा अभिनेता सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडाको अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here