काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा एक जना सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेर लुटपाटको प्रयास भएको छ ।
सुस्ता गाउँपालिका–१, बरुवमा रहेको पसल बन्द गरेर घर फर्किँदा बर्दघाट नगरपालिका–१६, ककुरमारा नजिकै सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो ।
प्रहरीले जनाए अनुसार, अज्ञात व्यक्तिले पेस्तोल र खुर्पा जस्तो धारिलो हतियार देखाएर स्कुटर छाड्न भनेको थियो । छोरासहित स्कुटरमा रहेका विश्वकर्माले नछाडेपछि एक राउण्ड फायर गरेको पाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धान अधिकृतहरुका अनुसार, स्कुटरमा सुन रहेको आशंकामा उनीहरुले लुटपाट गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ । ‘तर, त्यहाँ धेरै सुन थिएन भन्ने बुझिएको छ, त्यहाँ डिकीमा भएको पसलको चाबी र चेक बुक भने उनीहरुले लगेको भेटिएको छ’, बोहोराले भने, ‘यसमा संलग्नहरुबारे थप अनुसन्धान गरिरहेका छौं ।’


















