काठमाडौं । जनकपुरधामबाट काठमाडौंका लागि उड्न लागेको यती एयरलाइन्सको जहाजमा समस्या देखिएपछि विमानस्थलमै रोकिएको छ। प्राविधिक समस्या देखिएपछि काठमाडौँका लागि उड्न लागेको यति एयरलाइन्सको जहाज जनकपुर विमानस्थलमै रोकिएको हो।
काठमाडौंबाट उडेको यती एयरलाइन्सको ९ एन–एएमएन जहाज जनकपुर विमानस्थलमा अवतरण गरेर पार्किङमा पुगेपछि प्राविधिक समस्या देखिएको थियो।
यती एयरलाइन्स जनकपुरका स्टेशन म्यानेजर राजेश सिंहले जहाजमा प्राविधिक समस्या देखिएपछि विमानस्थलमा रोकिएको बताए। उनले इन्डिकेसन समस्या देखिएपछि उडान रोकिएको जानकारी गराए । ‘पाँच सात जना यात्रु चढ्न बाँकी थिए, इन्जन स्टार्ट गर्ने बेलामा एउटा बत्ति बलेको थिएन,’ सिंहले हिमालप्रेससँग भने,‘इन्डिकेटरमा समस्या देखिएपछि प्रधान कार्यालयले उडान रोक्न लगाएको हो।’
जहाजमा समस्या देखिएपछि परीक्षणका लागि बुुद्ध एयरलाइन्सबाट तत्काल प्राविधिक टोली जनकपुर पठाइएको छ। परीक्षणपछि प्राविधिक टोलीले अनुमति दिएपछि जहाज उड्ने सिंहले जनाए। ‘बुद्ध एयरबाट इन्जिनियरहरू आउनु भएको छ, उहाँहरूले परीक्षण गरिरहनु भएको छ,’ उनले भने,‘उहाँहरूले अनुमति दिएपछि मात्रै यहाँबाट जहाज उडाउने कुरा भएको छ।’

















