‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति घोषणा

51

काठमाडाैं । रौनक विक्रम कडेलको लगानीमा निर्माण भएको सिनेमा ‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १४ गते महाशिवरात्रिलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो।

आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट प्रस्तुत छन्। विनय ९ वर्षअघि प्रदर्शन भएको सिनेमा ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका छन्। पोस्टरमा सुपुष्पाले मुस्कुराउँदै हातमा रातो गुलाब लिएकी छन् भने विनयले आकाशतिर हेर्दै हात जोडेका छन्। सार्वजनिक पोस्टरबाट उनीहरुबीचको प्रेम दर्शाउन खोजिएको छ।

‘रेशम फिलिली’मा भने विनयको जोडी अभिनेत्री मेनुका प्रधानसँग बाँधिएको थियो। यसपटक सिनेमामा मेनुका दोहोरिएकी छैनन्। निरोज महर्जनको निर्देशन रहेको सिनेमामा विनय र सुपुष्पासहित नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ।

सिनेमाको कार्यकारी निर्मातामा सुरज बम ठकुरी, सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ।

सिनेमा आर्टस्को प्रस्तुती र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमाको सहनिर्माताको रुपमा एनी थापा छन्। सिनेमालाई यतिबेला सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन्। यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here