काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ ।
जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा रहेका थप १३ जनालाई हाजिरी जमानीमा हिरासत मुक्त गरिएको हो । यसअघि यही घटनामा पक्राउ परेका आठ जनालाई हाजिरी जमानीमा छाडिएको थियो ।
योसँगै हाजिरी जमानीमा हिरासत मुक्त हुनेको संख्या २१ पुगेको छ । उनीहरूलाई हाजिरी जमानीमा हिरासतमुक्त गरिए पनि अनुसन्धान भने अघि बढ्ने जनाइएको छ ।
बयान लगायतको काम सकिएको हिरासतमा राखिराख्नुपर्ने अवस्था नदेखिएकाले हाजिरी जमानीमा छाडिएको परिसरका एक अधिकृतले जनाए ।
उनीहरू भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म यो केशमा ८५ जनालाई पक्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान गरेको छ । जसमध्ये २१ जना हिरासतमुक्त रहेकाले अहिले परिसरको हिरासतमा रहनेको संख्या ६४ छ ।


















