सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रको विकल्प नभएको जनाएका छन् । १८औं गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश दिंदै मुख्यमन्त्री कँडेलले यो व्यवस्थालाई बलियो बनाउनका लागि हाम्रा कार्यशैली, व्यवहार र आचरणहरूमा सुधार गर्नुपर्ने बताएका हुन् ।
जुनसुकै शासन प्रणालीलाई संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने भन्दै उनले गणतन्त्रको विकल्प नभएको जनाएका छन । ‘शासन प्रणाली विकासका क्रममा कमजोरीहरू देखा पर्न पनि सक्छन । नागरिकका आशातीत अपेक्षा पुरा नहुँदा कहीँ कतै वितृष्णा र टिका— टिप्पणीका स्वरहरू सुनिन पनि सक्छन,’ शुभकामना सन्देश दिँदै उनले भनेका छन, ‘त्यसलाई हामीले स्वाभाविक ठानेर हाम्रा कार्यशैली, व्यवहार र आचरणहरू सुधार गर्न सक्नुपर्छ ।’
लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीन वटै आयामहरूलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उनको बुझाइ छ । ‘व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट हरेक नागरिक समान हुने प्रणाली स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता हो,’ उनले भनेका छन, ‘यस युगान्तकारी परिवर्तनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्न सक्छ ।’
मुख्यमन्त्री कँडेलले गणतन्त्र दिवसले राष्ट्रिय सार्वभौमिकता‚ स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।


















