काठमाडौं । एएफसी महिला च्याम्पियन लिग छनोट चरण अन्तर्गत समूह बी को आफ्नो पहिलो खेलमा नेपालको च्याम्पियन एपीएफ क्लब उज्वेकिस्तानको पीएफसी नासाफसँग पराजित भएको छ ।
सोमबार उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा भएको खेलमा एपीएफ नासाफसँग ३-० ले पराजित भएको हो ।
नासाफले तीनै गोल पहिलो हाफमा गरेको थियो । गत वर्ष पनि एएफसी महिला च्याम्पियन्स लिग छनोट चरणमा एपीएफले नासाफसँग खेलेको थियो । उक्त खेलमा नासाफसँग १-० ले पराजित भएको एपीएफले यसपटक बदला लिने अवसर पाएपनि पराजित भएको हो ।
यसै समूहको अर्को खेलमा थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्सले साउदी अरेबियाको अल नासेरलाई २-० ले हराएर विजयी सुरुवात गरेको छ ।

















