क्रान्तिकारी कम्युनिष्टहरूको एकताः समयको माग र राष्ट्रिय आवश्यकता

7

–लोकनारायण सुबेदी

नेपालको राजनीतिक इतिहासमा कम्युनिष्ट आन्दोलनले गहिरो छाप छोडेको छ। यस आन्दोलनले राष्ट्रियता जनतन्त्र, जनजीबिका सामाजिक न्याय र वर्गीय मुक्ति जस्ता परिवर्तनका मूल आधारहरू प्रस्तुत गर्नमा संघर्षको बिकास गर्नमा क्रान्तिकारी कम्युनिष्टहरूको योगदान अमूल्य छ। खशगरी सामन्तबाद, साम्राज्यबाद र साम्राज्यबाद उन्मुख भारतीय एकाधिकार पूँजीवाद नेपालको आजको मूल समस्याको श्रोत हो भनेर पहिचान गर्न, निदान खोज्न र तिनको निराकरणका लागि मार्गदर्शन गर्न कम्युनिष्ट आन्दोलन सफल छ ।

तर यस मूलबाटोबाट बिचलित भएको आजको यथार्थ भने निराशाजनक छ—बैचारिक बिचलन, विभाजन, गुटबन्दी र सत्तालोलुपता मूलतः आज यस आन्दोलनको पर्याय जस्तै कुरा बनेका छन् । अधपत्तन र निराशाको यस्तो अवस्थामा क्रान्तिकारी कम्युनिष्टहरूको एकता केवल राजनीतिक आवश्यकता मात्र होइन, यो ऐतिहासिक तथा सामाजिक जिम्मेवारी जिम्मेवारी पनि हुन पुगेको छ ।

यस परिप्रेक्षमा आजको रक्षात्मक स्थितिमा रहेको अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको स्थिति र अत्यन्तै भयावह किमिसले बिग्रदो र गम्भीर हुँदो नेपालको राष्ट्रिय परिस्थिति र मडारिदो बाह्य हस्तक्षेपका एक पछि अर्को श्रृंखलाबद्ध गतिबिधिहरुको सन्दर्भमा सिद्धान्तनिष्ठ सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको एकता आजको ऐतिहासिक, राजनीतिक, सामाजिक र वैचारिक हिसाबले अत्यन्त अपरिहार्य राष्ट्रिय आवश्यकताको विषय बनेको छ । बस्तुतः क्रान्तिकारी कम्युनिष्टहरुको यस्तो राष्ट्रिय क्रान्तिकारी एकताको अभावमा नेपालको स्वाधीनता, राष्ट्रिय सार्बभौमिकता र भू–अखण्डताका समस्या झन जटील र गम्भीर हुने, जनतन्त्रत कमजार हुँदै गएर समाप्त हुने र जनजीबिका पनि अधोगतिमा धकेलिने गम्भीर स्थितिबाट हामी गुज्रिरहेका छौं । यसरी देशमा जनबादी आनदोलनका कार्यभार पूरा गरी बैज्ञानिक समाजबादमा संक्रमण गर्ने आन्दोलनै अत्यन्तै कमजोर हुनजाने गम्भीरतम स्थिति पैदा भएको छ । यस क्रममा नेपाली जनताको अभूतपूर्ब बलिदान र संघर्षबाट प्राप्त भएका सीमित र अपूर्ण अधिकारहरु पनि गुम्ने स्थिति सघन बन्दै गएको छ । यस बिग्रँदो गम्भीरतम स्थितिका बिरुद्ध सम्पूर्ण क्रान्तिकारीहरुको बैचारिक, संगठनात्मक र साँस्कृतिक एकता आज अत्यन्तै अपरिहार्य राष्ट्रिय आवश्यकता बन्न गएको हो ।

माथि भनिएजस्तै आज विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बनेको सन्दर्भमा नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी अवसरवादी धारा संशोधनवाद, सुधारवाद र संसदवाद हुँदै यथास्थितिवाद, आत्मसमर्पणबाद र प्रतिकृयावादमा पतन भएको छ । यसले आफू कम्युनिष्ट नै भएको भनी जनतामा भ्रम छरेर जनताको भोट बटुले पनि त्यो शक्ति र प्रवृत्ती हालैको जेन जेडको आन्दोलनसम्म आइपुग्दा जनतामा नाङ्गेझार भएको छ तापनि यसले निर्लज्जतापूर्वक आफ्नो भ्रष्ट, चिन्तन, चरित्र र चलखेललाई लुकाउँदै र धोईपखाली गर्दै पुनः भ्रम छर्ने दुस्साहस गरिरहेको छ । अर्कोतिर क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको धारा भने सिद्धान्तनिष्ठताको नाममा संकीर्णता, जडता र यान्त्रिकता हुँदै विशुद्धतावाद र क्रान्तिकारी लफ्फाजीवादको भोक र तीर्खाले गर्दा मृगतृष्णा भएर कुद्दा–कुद्दा कुद्नै नसकेर थलिने अवस्थामा पुगेको छ । यो शक्तिहीनता र गतिहीनताका बावजुद पनि उसले आफूभित्रका र क्रान्तिकारी आन्दोलनभित्रका केही नयाँ, भिन्न र मौलिक मति र गति लिएका शक्ति, व्यक्ति र प्रवृत्तिप्रति असंवेदनशीलता, असहिष्णुता, आग्रह, पूर्वाग्रह, प्रतिशोध र निषेधको सोंच र शैली अवलम्बन गर्ने गरेको छ । यसैका कारण एकातिर केही स्वाभिमानी, स्वच्छ र स्वविवेकी बौद्धिक व्यक्तित्वहरु र अर्कातिर विभिन्न सिर्जनशील र साहसिला युवाहरु जान–अनजानमा व्यक्तिवाद, अराजकतावाद र गुटफुटवादको शिकार भएर विद्रोह र विभाजन गर्दै गैरहेको दुखद अवस्था पनि छ । उल्लेख गरिएका यी सबै गम्भीर अवस्थामा कम्तिमा वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनका सबै क्रान्तिकारी शक्ति, समूह र व्यक्ति–व्यक्तित्व भनिएकाहरुबाट आफूमुखी निर्मम र संक्षिप्त समीक्षा हुनु जरुरी छ र यसै समीक्षाबाट गम्भीर शिक्षा लिएर् क्रान्तिकारी कम्युनिष्टहरुबीच निरन्तर एकताको खोजी र ध्रुवीकरण गर्नुपर्ने परम आवश्यकता छ । यसकासाथै सामन्तवाद–साम्राज्यवाद विरोधी गैरकम्युनिष्ट शक्ति, समूह र नागरिक आन्दोलनहरुसँग पनि मोर्चाबद्ध, सहकार्य र तालमेल मिलाएर क्रान्तिकारी कम्युनिष्ट पार्टी र आन्दोलनलाई स्थापित, विकसित र सशक्तिकृत तुल्याउँदै सफलीभूत पार्नु आजको राष्ट्रिय आवश्यकता र राष्ट्रिय जनाकांक्षा पनि हो । आजको यस अत्यन्तै गम्भीर र अन्यौलपूर्ण स्थतिमा कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारालाई एकीकरण, ध्रुवीकरण र पुनर्गठन गर्नु निरन्तर सही धरातलमा खडा गर्नु सच्चा क्रान्तिकारी शक्तिको काँधमा आएको आजको अहं राष्ट्रिय अभिभारा हो ।

नेपालमा कम्युनिष्ट आन्दोलनको शुरुवात वि.सं. २००६ साल भाद्र ३० गते तदनुसार १५ सेप्टेम्बर १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना सँगै भएको हो। त्यसयता २००८ सालदेखि २०१३ सालसम्म चलेको सामन्तबादबाट मुक्तिको किसान आन्दोलन २०३६ सालको राष्ट्रब्यापी संयुक्त बिद्यार्थी आन्दोलन, २०४६ सालको पञ्चायत बिरोधी बहुदल पुनस्र्थापनको लागि चलेको संयुक्त आन्दोलन, देशमा उठेको माओबादी सशस्त्र जनयुद्ध र अन्ततः र २०६२÷६३को माओबादी र सात दल बिचको समायोजन भएर चलेको राजतन्त्र बिरोधी बृहत संयुक्त आन्दोलन बिशेष उल्लेखनीय छन् । ती आन्दोलनहरु जनताको पक्षमा उभिने, उत्पीडित वर्गको आवाज बन्ने र समुन्नत समतामूलक समाज निर्माण गर्ने सपना बोकेका आन्दोलनहरु थिए र तिनमा कम्युनिष्ट शक्तिको महत्वपूर्ण र उल्लेखनीय योगदान थियो । तर समयक्रममा सत्ताको मोहमा कम्युनिष्टहरु भनिनेहरु नराम्रोसँग फँसे र यस आन्दोलनको सार्थक मूल मर्मबाट विचलित भए । आधारभूत बर्ग आधार छोडे र त्यसलाई केवल भोट बैंकतिर मोडे । यसले गर्दा ब्यापक बैचारिक बिचलन र एकपछि अर्को गुटबन्दीको संकट उत्पन्न भयो र त्यसले चरम रुप लिदै गयो ।

वैचारिक विचलन र गुटबन्दीको संकट

नेपालको कम्युनिष्ट आन्दोलनको मूल मार्गदर्शक आधार माक्र्सबाद लेनिनवाद र माओ बिचारधारा हो। यसले नेपाली समाजमा वर्गसंघर्ष, उत्पादन सम्बन्धमा परिवर्तन र नयाँ जनबादी क्रान्तिको पृष्ठभूमिका साथ समाजवादको आधार तयार गर्ने मार्ग देखाउँछ। आमूल परिबर्तनको यही मूलबाटो नेपालमा कमरेड पुष्पलालले प्रष्टसँग देखाउनु भएको हो । संयुक्त जन आन्दोलनमार्फत यसलाई अघि बढाउनदै गएर त्यस आनेनलको भट्टीमा खारिएका यूवाहरुको सशस्त्र जन सुरक्षा दलहुँदै उच्चत नैतिकता र इमानदारीताले भएिको त्यस्ता यूवा जमातका बीचबाट निर्णायक परिबर्तनका लागि सशस्त्र शक्ति निर्माण गर्ने उहाँको प्रष्ट सुझबुझ पूर्ण धारणा थियो । तर यो मूलबाटो छोडेर आजका धेरैजसो कम्युनिष्टहरू सिद्धान्तभन्दा सत्तामा केन्द्रित छन्। विचारको सही र सचेत प्रयोगभन्दा जनतालाई अल्मल्याउने र भोट तान्ने नाराको प्रयोग सबैभन्दा बढी भएको छ। गुटबन्दी, व्यक्तिगत स्वार्थ, पदको लालसा र वैचारिक अस्पष्टताले कम्युनिष्ट आन्दोलनलाई अत्यन्तै कमजोर बनाएको छ। फलतः कार्यकर्ता र नेतृत्वबीचको अन्तरविरोध पनि तीव्र हुँदै गएको छ । जसलेगर्दा घोर निराशा र थप बिचलनको अबस्था सिर्जना भएको छ र यसलाई आज गम्भीरतापूर्बक चिर्न जरूरी छ ।

जनताको विश्वास गुमाउँदै

निश्चय नै नेपाली जनताले आफ्ना आधारभूत समस्याहरुबाट मुक्ति र परिवर्तनको आशा कम्युनिष्टहरूबाटै गरेका थिए। शहीदहरूको ठूलो बलिदान, जनसंघर्षको लागि गरेको त्याग, जनआन्दोलनको उत्सर्ग—यी सबै जनताले देखेका थिए। तर आजको यथार्थमा जनताले भ्रष्टाचार, अवसरवाद, सत्ताको दुरुपयोग मात्र देखिरहेका छन्। जनताको मुद्दा—कृषिमा समुन्नति, रोजगारी, शिक्षा, स्वास्थ्य, भूमि अधिकार, लैङ्गिक समानता—जातिय उत्पीडन अर्थात समग्रमा बर्गीय शोषण र सामाजिक उत्पीडबाट मुक्तिका कुरा बिर्सिएको छ। जनतासँगको सम्बन्ध यसरी कमजोर हुँदै र टुट्दै गएको छ।

संकट समाधानका लागि एकताको अपरिहार्यता

कम्युनिष्ट आन्दोनलमा आएको बिचलनको यो वर्तमान संकटको समाधान सिद्धान्तनिष्ठ एकतामा छ। यो एकता भनेको केवल संगठनात्मक मिलन होइन, यो सही वैचारिक स्पष्टता, रणनीतिक समन्वय र जनतासँगको पुनः जीवन्त सम्बन्ध समेत हो। यो कोरा एकता झुण्ड बिस्तार र हुल बढाउने कुरा होइन,दार्शनिक, बैचारिक, सैद्धान्तिक र राजनीतिक स्पष्टता सहितको बैज्ञानिक एकतको खोजी हो । यसका लागि निम्न महत्वपूर्ण अबधारणा अघि सारिएको छ ः

१.वर्गीय मुक्ति, नयाँ जनबाद र समाजवादको लक्ष्य

कम्युनिष्ट आन्दोलनको अन्तिम लक्ष्य नयाँजनबादी क्रान्ति हुदै समाजवाद र साम्यवाद हो। यो लक्ष्य प्राप्त गर्न सचेत, संगठित र संघर्षशी एकीकृत शक्ति आवश्यक हुन्छ। विभाजित संगठनले वर्गसंघर्षका आधारमा आमूल परिबर्तनको आन्दोललाई कमजोर बनाउँछ। यसरी सिद्धान्तनिष्ठ ठोस एकता बिना आमूल परिबर्तनकारी क्रान्तिको यो सपना अधुरै रहन्छ ।

२.एकताले जनताको विश्वास पुनःस्थापना हुन्छ

कम्युनिष्टहरुको सही एकताले जनतासँग गुमेको सम्वन्ध पुनः स्थापना हुन्छ र त्यो बलियो एकताको माध्यम हुन्छ । जनताले फेरि विश्वास गर्न सक्छन् । यसरी कम्युनिष्टहरू एकजुट भएर जनता र राष्ट्रको पक्षमा दृढतापूर्ब उभ्भिन सक्ने बिश्वासिलो आधार बन्दछ ।

३.साम्राज्यबादपरस्त सामन्त र दलाल पुँजीवादको चुनौती

देशमा साम्राज्यबादपरस्त दलाल पुँजीवाद, नवसामन्तवाद र विदेशी हस्तक्षेपविरुद्ध लड्न पनि एकताबद्ध कम्युनिष्ट आन्दोलनको अपरिहार्य आवशयकता रहेको छ । अहिलेसम्मको आन्दोलनको अनुभवले पनि एकता, संयुक्त मोर्चा र कार्यगत एकताका अधारमा आन्दोलन चल्दै आउँदा त्यसको अन्तिम परिणति सच्चा कम्युनिष्टहरुको एकता नै हो भन्ने पुष्टि हुन्छ । त्यसले प्रतिगमन र साम्राज्यबाद बिरोधी आन्दोलनलाई सुदृढ र सशक्त बनाउँदछ

४.संगठनात्मक सुदृढीकरण

निश्चय नै सशक्त आन्दोलनको लागि संगठनात्मक एकता र सुदृढीकरणको आधार पनि सैद्धान्तिक राजनीतिक एकता नै हो। यसले यसले बिचार, कार्यकर्ता, रणनीति, कार्यनीति सबै परिबर्तनका अबयब, उपकरण र श्रोतहरुलाई एक ठाउँमा ल्याउँछ। यसरी नेतृत्वको पुनर्संरचना र कार्यकर्ताको सशक्तिकरण र समग्रमा पार्टीको सुदृढीकरण सम्भव हुन्छ ।

५.एकताका ठोस बैचारिक तथा सैद्धान्तिक आधार

कम्युनिष्ट एकता केवल एउटा भावनात्मक आवेगमा मात्र आधारित हुन सक्दैन। यसका लागि ठोस सैद्धान्तिक राजनीतिक मूल्य मान्यताहरुको आबश्यकता हुन्छ । यसका लागि सैद्धान्तिक बैचारिक स्पष्टतार त्यसले मार्गदर्शन गर्ने कुरा सर्बोपरी कुरा हुन्छ । यसरी माक्सबादी दर्शन अर्थात माक्र्सबाद लेनिनबाद माओबिचारधारामा आधारित ठोस र सुस्पष्ट बिश्लेषणमा सहमतिमा आधारित एकता मात्र दीर्घकालीन र सार्थक हुन्छ । यस सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टील माक्र्सबाद लेनिनबाद माओबिचारधारमा आधारित कमरेड पुष्पलालका बिचार वरिपरी सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरु एकजुट होऔं भन्ने मान्यता अघि सारेको छ ।

६.कम्युनिष्ट आन्दोलनको बस्तुपरक समीक्षा

विगतदेखि बर्तमानसम्म भए गरिएका सैद्धान्तिक राजनीतिक र ब्यवहारिक गल्तीहरूको समीक्षा आवश्यक छ। गद्दारी, अवसरवाद, सत्तालोलुपता जस्ता अस्वीकार्य कुराहरु के के भए तिनले आन्दोलनलाई एकीकृत र सही बाटोमा हिड्न किन दिएनन् त्यसलाई स्वीकार गर्नुपर्छ। यसरी आन्दोलनको आत्मसुधारको आधारमा क्रान्तिकारी जनविश्वासको पुनर्निर्माण हुन्छ र त्यसले क्रान्तिकारी मूल्य पद्धतिको स्थापना र सैद्धान्तिक तथा संगठनात्मक सबलिकरणमा सहयोग पुर्याउँदछ ।

७.नेतृत्वको पुनर्संरचना

यस सन्दर्भमा एक तीनको नियममानुसार सबैलाई समेट्ने गरी नेतृत्वको निर्माण गर्नु पनि पार्टी एकताको एउटा महत्वपूर्ण पक्ष हो । यसलाई ब्यवहारमा उतार्ने गरी संरचना खडा गर्नु पर्दछ । खाशगरी आजको विज्ञान, प्रविधि र जनचेतनामा पोख्त यूवा, अनुभवी र परिपक्क नेता र सामाजिक क्षेत्रका प्रतिष्ठित पिढीलार्ई समेट्ने नीति हाम्रो हुनु पर्दछ । यसो गर्न सकेमा मात्र संरचनात्मक समस्या पनि हल भएर एकतालाई सबल बतुल्याउन मद्दत पुग्दछ ।

८.जनतासँग पुन घनिष्ठ सम्बन्ध

राष्ट्र र जनताका आधारभूत मूल मुद्दा— कृषि र किसानका समस्या रोजगार, शिक्षा, स्वास्थ्य, भूमि अधिकार, लैङ्गिक र सामुदायिक समानता—प्रति प्रतिबद्धता देखाउनुपर्छ। आन्दोलन जनमुखी हुनुपर्छ र राष्ट्रमुखी तुल्याउनमा रहेका बाधाहरु हटाइनु पर्दछ ।यसले पार्टीलाई बहिर्मुखी र पराश्रित हुनबाट बचाउँछ र जनतामा भरपरेको र आफ्नै खुट्टामा खडा हुने आधार निर्माण गर्दछ । बस्तुतः यसैका लागि कमरेड माओले उत्पादन संघर्ष, बर्ग संघर्ष र बैज्ञानिक प्रयोगलाई अबिछिन्नरुपमा संयोजन र अबलम्बन गर्न दिशा निर्देश गर्नु भएको हो ।

९.अन्तर्राष्ट्रिय सन्दर्भ

आज अन्तर्राष्ट्रिय जगतमा पनि कम्युनिष्ट आन्दोलन विभाजनको समस्याबाट ग्रस्त छ । बर्तनमा पनि अभिबाजित रहेका चीन, क्युबा, भियतनाम, भेनेजुएला जस्ता देशहरूमा एकता र विचारको स्पष्टताले आन्दोलन सफल भएको र एकतालाई टिकाइराखेको कुरा बुझ्नु र आत्मसात गर्नु आवश्यक छ । एकता केवल एकता देखाउनका लागि होइन, आमूल परिबर्तनका लागि संगठनलाई सबै किसिमले अर्थात दार्शनकि, बैचारिक, सैद्धान्तिक, कार्यक्रमि र कार्यनीतिक किसिमले समेत सुदृढ तुल्याएर परिबर्तनलाई मूर्तरुप दिनका लागिको एकता हो भन्ने प्रष्ट बुझ्नु र आत्मसात गरिनु पर्दछ ।

१० निष्कर्श ः

त्यसैले प्रष्टरुपमा भन्न सकिन्छ कि क्रान्तिकारी कम्युनिष्टहरूको एकता केवल संगठनात्मक आवश्यकता मात्र होइन, यो ऐतिहासिक र गम्भीर सामाजिक जिम्मेवारी पनि हो। जनताको सपना सकार पार्न, शहीदहरूको बलिदानको सम्मान तथा वर्गीय मुक्ति र आमूलपरिबर्तनकारी समतामूलक समाज निर्माणको मार्ग प्रसस्त गर्न बृहत एकताबाट मात्र सम्भव छ। त्यसैले विचार, संगठन, नेतृत्व र जनसम्बन्धको पुनर्संरचना गर्दै एकता कायम गर्न सकियो भने मात्र नेपालमा फेरि क्रान्तिकारी आन्दोलनको लहर उठ्न सक्छ भन्ने बिश्वासको शक्ति आर्जन हुन्छ र त्यसको पुष्टि हुने स्थिति पनि बन्छ ।

आमूल अग्रगामी परिबर्तन तथा जनता र राष्ट्रको सर्बोपरी हितप्रति समर्पित सबै क्रान्तिकारी कम्युनिष्टहरु एक होऔं ! एकता अमर रहोस् !!

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here