काठमाडौं । बाढी र पहिरोमा परी हालसम्म ४३ जनाको मृत्यु भएको छ। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर आइतबार दिउँसो २ बजेसम्ममा ४३ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार इलाममा सबैभन्दा बढी ३७ जनाको पहिरोमा परेर मृत्यु भएको छ। एकजना बेपत्ता छन्। इलाममा एकजना गर्भवतीसहित दुईजनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
यसैगरी पाँचथरमा पहिरोमा परेर १ जना,खोटाङमा खोलाले बगाएर १ जना, उदयपुरमा खोलाले बगाएर १ जना र रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको हो। बाढी पहिरोमा परी हालसम्म ५ जना वेपत्ता र १२ जना घाइते भएका छन्।
भक्तपुरबाट नुवाकोटहुँदै रसुवाको पर्यटकीयस्थल लाङटाङ जाँदै गरेका दुई युवतीसहित चारजना शनिबार बेलुकी वेरिङखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका छन्। १६ जनाको समूहमा लाङटाङ घुम्न जाने क्रममा रहेका भक्तपुरका चारजना युवायुवतीलाई गोसाइँकुण्ड गाउँपालिका –४ बेरिङ खोल्सामा आएको बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसारमध्यपुरठिमी नगरपालिकाकी संकृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का रवि श्रेष्ठ बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी पन्थीले जनाए।