काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बुधबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले आफ्नो दुई विकेट गुमाएको छ ।
नेपालले छैटौं विकेटका रूपमा आरिफ शेखलाई गुमाएको हो । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेख ३० रन बनाउँदै आउट भए । उनले ५४ बलको सामना गरी दुई चौका हिर्काए । आरिफ शेखलाई जुनैद सिद्दकीले विकेटकिपर शर्माद्वारा क्याच गराए । ४२.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ८७ रन बनाएको थियो ।
आरिफ आउट भएलगत्तै अर्का ब्याट्सम्यान करण केसी पनि सातौं विकेटका रूपमा पेभेलियन फर्किए । उनी आरिफकै ठाउँमा क्रिज समाल्न आएका थिए । उनी पहिलो बलमै पेभेलियन फर्किए । उनलाई पनि जुनैद सिद्दकीले विकेटकिपर शर्माद्वारा क्याच गराए । दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो ।


















